चारपाने । 

झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नव निर्वाचित संस्थाको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई पदहस्तान्तरणसँगै शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । 

देशकै सवै भन्दा ठूलो सहकारी सहारा नेपाल साकोसले शनिवार कार्यालय परिसरमा नयाँ निर्वाचित संस्थाको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई पदहस्तान्तरणसँगै तिहारको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको होे । 

संस्थाका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थाको समग्र अवस्थाका बारेमा जानकारी गराएका थिए । 

sahara

संस्थाका निवर्तमान अध्यक्ष हरिबहादुर राजवंशीले नव निर्वाचित अध्यक्ष छविलाल खतिवडालाई माइन्यूट, लेटरहेड र छाप साथै लेखा सुपरिवेक्षण समितिका संयोजक डम्बरबहादुर देउजालाई माइन्यूट हस्तान्तरण गरेर पदहस्तान्तरण गरेका थिए । 

कार्यक्रममा निवर्तमान संस्थाका सञ्चालक समितिले नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई सयपत्री फुलको माला लगाउँदै आगामी कार्यकालको शुभकामनासमेत दिएका थिए । 

सोही कार्याक्रमका बिच ‘मेरो आफ्नै घर–कर्जा’ प्रोडक्ट सार्वजनिक गरिएको थियो । संस्थाका स्थापना कालका जेष्ठ सदस्यहरु महानन्द गिरी र रमएकवाल साहले उक्त प्रोडक्टको संयुक्त रुपमा सार्वजनिक गरेका थिए । त्यस्तै शुभदीपावलीको अवसरमा फुलको गुच्छा एकअर्कामा साटासाट गरेर शुभकामना आदान–प्रदान गरिएको थियो । 

यसैगरी शुभदीपावलीको अवसरमा देउसीभैलो तथा नाचगान गरेर शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका निर्देशक दिनेशबहादुर निरौलाले गरेका थिए । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष हरिबहादुर राजवंशीले नव निर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए भने नव निर्वाचित समितिका अध्यक्ष खतिवडाले संस्थागत विकासमा आगामी रणनीतिका वारेमा जानकारी गराउँदै संस्थाप्रति प्रतिवद्धता जनाएका थिए ।