बिर्तामोड।
झापाको बिर्तामोडमा रहेको श्री सुनकोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) को २० औं वार्षिक साधारण सभा बिर्तामोड–१ स्थित अतिथि सदनमा भव्यताका साथ सम्पन्न भएको छ। नियमनकारी निकायको निर्देशनलाई पूर्ण रूपमा पालना गर्दै यस पटकको साधारण सभा विशेष गरी संस्थाका शेयर सदस्यहरूको मात्र उपस्थितिमा सञ्चालन गरिएको थियो।
संस्थाका अध्यक्ष गंगाराम ओडारी पन्तको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा उपस्थित सम्पूर्ण शेयर सदस्यहरूलाई संस्थाका उपाध्यक्ष हेमप्रसाद राजवंशीले शाब्दिक स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कमल पराजुलीले गरेका थिए ।
वासलात (कुल सम्पत्ति) र निक्षेपमा उच्च वृद्धि
साधारण सभामा सस्थाका अध्यक्ष गंगाराम ओडारीद्वारा प्रस्तुत वित्तीय प्रतिवेदन अनुसार संस्थाले चौतर्फी सूचकहरूमा सकारात्मक र उत्साहजनक वृद्धि हासिल गरेको छ। देशमा विद्यमान आर्थिक मन्दी र बजारको संकुचनका बाबजुद संस्थाको कुल वासलात (सम्पत्ति तथा दायित्व) गत आर्थिक वर्ष २०८१/०८२ मा १७ करोड ५० लाख ८४ हजार ७२ रुपैयाँ रहेकोमा यस आर्थिक वर्ष २०८२/०८३ मा २ करोड २९ लाख ४० हजारभन्दा बढीले वृद्धि भई १९ करोड ८० लाख २४ हजार ३ सय ३० रुपैयाँ पुगेको छ।
त्यसैगरी, संस्थाप्रति शेयर सदस्यहरूको विश्वास प्रगाढ बन्दै गएको प्रमाण स्वरूप निक्षेप संकलनमा समेत उच्च वृद्धि भएको छ। गत वर्ष कुल निक्षेप १३ करोड ७६ लाख ७२ हजार ९ सय ५६ रुपैयाँ रहेकोमा यस वर्ष २ करोड ४८ लाख ५६ हजारभन्दा बढीले वृद्धि भई कुल निक्षेप दायित्व १६ करोड २५ लाख २९ हजार ९ सय ३४ रुपैयाँ पुगेको छ। साथै, संस्थाको कुल चुक्ता शेयर पूँजी २ करोड १८ लाख ६३ हजार ३ सय रुपैयाँ पुगेको छ।
सोही अवसरमा संस्थाको श्रीवृद्धिमा उत्कृष्ट योगदान पुर्याउने शेयर सदस्यहरूलाई वार्षिक रूपमा प्रदान गरिँदै आएको ुसम्मान तथा पुरस्कार कार्यक्रम अन्तर्गत शर्मिला श्रेष्ठ, मदन राजवंशी, इडन राई र पुनम देवान लिम्बूलाई उत्कृष्ट सदस्यको रूपमा नगद तथा सम्मानपत्रद्वारा पुरस्कृत गरिएको थियो।
संस्थाले उत्पादनमूलक क्षेत्रमा सुरक्षित कर्जा लगानी, संस्थागत सामाजिक उत्तरदायित्व र सम्पत्ति शुद्धीकरण निवारण ऐनको पूर्ण पालना गर्ने नीतिलाई उच्च प्राथमिकता दिएको छ। कार्यक्रमको अन्त्यमा अध्यक्ष ओडारीले विषम परिस्थितिमा पनि संस्थाप्रति अदम्य विश्वास र धैर्यता देखाइरहेका सम्पूर्ण शेयर सदस्य, संचालक समिति, लेखा सुपरिवेक्षण समिति तथा कर्मचारी वर्गप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेका थिए ।
प्रतिक्रिया 0