बिर्तामोड । 

मुद्रण उद्योग संघ झापाको आयोजनामा ‘ग्राफिक्स डिजाइनमा एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोग’ विषयक एकदिने तालिम कार्यक्रम शनिबार सम्पन्न भएको छ । ग्राफिक्स डिजाइन तथा मुद्रण क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले बिर्तामोडको चारपानेमा आयोजित तालिममा जिल्लाका विभिन्न मुद्रण तथा डिजाइन व्यवसायसँग आबद्ध ४० जना सदस्यहरुको सहभागिता रहेको थियो ।

तालिममा प्रमुख प्रशिक्षकको रुपमा रहेर एआईको सम्भावना तथा डिजाइन क्षेत्रमा यसको प्रभावबारेमा गुगल जेमिनी एआई एजुकेटर उमाकान्त खनालले प्रशिक्षण दिएका थिए ।त्यस्तै ग्राफिक्स डिजाइनका विषयमा प्रशिक्षक एकराज प्रधानले सहजीकरण गरेका थिए । प्रशिक्षकहरूले आधुनिक डिजाइन प्रविधि, एआई टुलहरूको प्रयोग, कार्यक्षमता वृद्धि तथा व्यवसायिक प्रतिस्पर्धामा एआईको भूमिकाबारे विस्तृत जानकारी गराएका थिए ।

कार्यक्रममा मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष युवराज डाँगीको प्रमुख आतिथ्यता रहेको थियो । उनले प्रविधिको तीव्र विकाससँगै मुद्रण तथा डिजाइन क्षेत्र पनि परिवर्तनको चरणमा रहेको उल्लेख गर्दै नयाँ प्रविधि आत्मसात् गर्न यस्ता तालिम प्रभावकारी हुने बताए ।

 संघका अध्यक्ष रोहितकुमार भट्टराईले प्रविधिको उपयोग गर्न जाने यसले मुद्रण क्षेत्रलाई थप बलियो बनाउने धारणा राखे । कार्यक्रमका सहभागीहरूले तालिम उत्साहजनक रहेको बताउँदै यसले कार्यक्षमता विकास गर्न र प्रभावकारी काम गर्न मद्दत पुगेको बताएका छन् ।

 सोही अवसरमा संघको अक्षय कोषमा शुभचिन्तकको तर्फबाट ५१ हजार रुपैयाँ र संघका सदस्य देवराज गौतमको तर्फबाट ५ हजार एक सय रुपैयाँ कोषाध्यक्ष रमेशकुमार बस्नेतलाई हस्तान्तरण गरिएको थियो । उपाध्यक्ष याम थुलुङले स्वागत गरेको कार्यक्रममा मुद्रण उद्योग महासंघका सहकोषाध्यक्ष राजु पोखरेल, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य केदार खनाल लगायतको आतिथ्यता रहेको थियो ।

 कार्यक्रम सञ्चालक तथा संघका सचिव भानुभक्त खनालले आगामी दिनमा पनि समयानुकूल प्रविधि तथा सिप विकाससम्बन्धी यस्ता कार्यक्रमलाई संघले निरन्तरता दिने बताए ।