बिर्तामोड ।
व्यवसाय र सामाजिक क्षेत्रमा दुई दशकदेखि सक्रिय युवा व्यवसायी डिलीराम न्यौपाने आगामी स्थानीय तह निर्वाचनमा झापाको बिर्तामोड नगरपालिकाको मेयरका सम्भावित आकांक्षीका रूपमा चर्चामा आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुरुवाती चरणदेखि सक्रिय न्यौपाने हाल पार्टीका निर्वाचित जिल्ला सदस्य तथा जिल्ला ¥यापिड एक्सन टिम (र्याट) प्रमुख हुन्।
न्यौपानेले करिब २० वर्षदेखि बिर्तामोडमा व्यवसाय गर्दै आएका छन्। उनले कपडाको थोक तथा खुद्रा व्यापार सञ्चालन गरिरहेका छन्। व्यवसायसँगै सामाजिक गतिविधि र पार्टी संगठनमा सक्रिय रहँदै आएका न्यौपानेको मेयर बन्ने आकांक्षासँगै उनको राजनीतिक भूमिकाबारे स्थानीयस्तरमा चासो बढेको छ।
लामो व्यावसायिक यात्राका क्रममा उनले स्थानीय बजार, उपभोक्ताको आवश्यकता तथा व्यवसायीले भोग्नुपरेका समस्या नजिकबाट बुझ्ने अवसर पाएका छन्। व्यापारिक गतिविधि, बजार व्यवस्थापन र उद्यमशीलतासँग जोडिएको यही अनुभवलाई नगरको विकास तथा व्यवस्थापनमा उपयोग गर्न सकिने उनको राजनीतिक आकांक्षासँग जोडेर हेरिएको छ।
पार्टी संगठनमा उनको सक्रियता र जिल्ला तहको जिम्मेवारीले आगामी स्थानीय तह निर्वाचनमा उनको दाबेदारीलाई चासोको विषय बनाएको छ। रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने तयारीसँगै बिर्तामोडमा पनि मेयर पदका अन्य सम्भावित आकांक्षीहरूबारे चर्चा हुन थालेको छ।
तीव्र सहरीकरणसँगै सडक तथा पार्किङ व्यवस्थापन, फोहोरमैला नियन्त्रण, रोजगारी सिर्जना र सुशासन बिर्तामोडका प्रमुख चुनौती हुन्। मेयरको आकांक्षीका रूपमा अघि बढेमा न्यौपानेले यी विषयमा कस्तो विकास योजना प्रस्तुत गर्छन् र पार्टीले उम्मेदवार छनोटमा कस्तो निर्णय लिन्छ भन्ने विषयले उनको राजनीतिक यात्राको दिशा तय गर्नेछ।
प्रतिक्रिया 0