- गोमा लुइँटेल
म यो लेख लुकाएर लेखिरहेकी छैन। मेरो नाम छ, मेरो पहिचान छ र मेरो पीडा अपराध होइन। यो समाजको यथार्थ हो, जसलाई बोलिनै पर्छ।
वैदेशिक रोजगारमा जाने सबै श्रमिकको दुख, पिडा, ब्यथा धेरैले बोलेको, लेखेको देखिन्छ तर, घरमा हुने सदस्यको कथा प्रायः मौन हुन्छन् जुन ब्यथा बनेर बसेको हुन्छ मनको, मस्तिष्कको । मैले श्रीमान् वैदेशिक रोजगारमा भएका धेरै दिदीबहिनीहरुको चीत्कार, रोदन, सुनेकी छु देखेकी छु तर देख्नु, सुन्नु र स्वयं भोग्नुमा धेरै फरक हुँदोरहेछ ।
श्रीमान् विदेश गएको दिनदेखि मेरो जीवन प्रतीक्षाको नाममा चल्न थाल्यो। प्रतीक्षा केवल फर्कने मितिको होइन—समझदारीको, संवेदनशीलताको र स्वीकार्यताको पनि। घर उही थियो, मान्छे उही थिए, तर म आफैं अपरिचित जस्तै भएँ।
दिनभरि जिम्मेवारीले मलाई थामिरह्यो। घर, छोराछोरी, परिवार, समाज—सबैको अपेक्षा मेरो काँधमा थियो। म बलियो देखिनुपर्ने महिला थिएँ। थाकेको देखिनु हुँदैनथ्यो, दुखेको सुनाउनु हुँदैनथ्यो।दिन त यस्तै अभिनय मंचन गरेर बित्थ्यो ।
तर, रात परेपछि म एक्ली हुन्थें र सबै कुराले मलाई एकैपटक थिच्थ्यो। त्यो एक्लोपनले मलाई धेरै कुरा सिकायो—आँसु नदेखाई रोइने कला, अनि मुस्कानभित्र पीडा लुकाउने अभ्यास।
समाजको नजरले मलाई झन् थकायो। विदेशमा श्रीमान् भएको महिलामाथि गरिने अनावश्यक प्रश्न, मौन शंका र चरित्रमाथिको निगरानी—यी सबै सामान्यझैँ स्वीकार गरिन्छन्। म बारम्बार सोच्थें, मेरो दोष के हो ? श्रीमती हुनु ? पर्खिनु ? आत्म सम्मानसँग बाँच्न खोज्नु ?
भरोसा टाढाबाट जोगाउनु सजिलो हुँदैन। समय नमिल्दा, फोन नउठ्दा, शब्दहरू छोटा हुँदा श्रीमानले लगाउने लाल्छना सबैभन्दा घातक बन्ने गर्थे। अरुले के भन्छन् मलाई खासै असर नगर्ने बिषय हुन्थे तर श्रीमानले बोलेका धेरै शब्दहरुका ती अर्थ सधैं सत्य हुँदैनन्, तर ती पीडादायी हुन्छन्। यस्ता परिस्थितिले म धेरै पटक टुटेँ, फुटेँ तर फेरि आफैंलाई जोडें किन कि मसङ्ग अबोध मेरा छोराछोरी प्रतिको जिम्मेवार र कर्तव्य थियो जसका लागि मलाई कुनै हालतमा हार्न छुट थिएन ।
आमाको भूमिकामा म दोहोरो भएँ। बच्चाले बाबाको खाली ठाउँ औँलाले देखाउँदा म शब्द खोज्न सकिनँ। मुस्कान दिएँ, कथा सुनाएँ, तर मनभित्र एउटा प्रश्न बारम्बार उठिरह्यो—यो खालीपनको जिम्मेवारी कसले लिन्छरु
एक समय आयो, म आफैंलाई हराउँदै गएको महसुस गर्न थालेँ। निद्रा भाग्यो, मन अस्थिर भयो, तर म चुप रहेँ। किनकि यहाँ महिलाको मानसिक पीडा अझै ‘नाटक’ ठानिन्छ।
तर, आज म चुप बस्न चाहन्नँ, आफन्त र समाजले के भन्छ भनेर म मानसिक तनाव गुम्स्याएर निसासिएर बिस्फोट गरेर आफैंलाई सक्न चाहान्न लुकाएर ब्यथा होइन लेखेर कथा बनाउन चाहान्छु । म यो लेख आफैंका लागि मात्र होइन, ती सबै महिलाका लागि लेख्दैछु, जो मौन परदेश बोकेर घरमै बसिरहेका छन् । हामी कमजोर छैनौँ, तर हामीलाई पनि सुन्ने कान, बुझ्ने मन र हाम्रो श्रमको सम्मान चाहिन्छ।
वैदेशिक रोजगारले देशलाई रेमिट्यान्स दिन सक्छ, तर यसले घरभित्र गहिरो मानसिक खाडल बनाउँदैछ भने त्यसबारे बोलिनै पर्छ। आर्थिक समृद्धि मानवीय संवेदनाको मूल्यमा हुनु हुँदैन।
यो मेरो मात्रै कथा होइन—यो समाजको कथा हो।

















