झापा । 

प्रधानमन्त्री वालेन्द्र शाहको सरकार बनेपछि चालिएका विभिन्न कदमले निराश बनेका वैदेशिक रोजगार व्यवसायी युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग छलफल गरेपछि खुसीले गदगद देखिएका छन् । श्रममन्त्री यादवले आफू मन्त्री भएको ५० दिनमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिमण्डललाई पत्र नै काटेर छलफलको निम्तो दिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय श्रम तथा उपभोक्ता हित विभागको आयोजनामा मन्त्रालयमा आयोजित अन्तरक्रियामा मन्त्री यादवले धेरै विषयमा खुलेर सकारात्मक धारणा राखे ।

छलफलमा सहभागी संघका पूर्वमहासचिव मेघनाथ भुर्तेलले बुधबारको छलफलपछि व्यवसायीमा नयाँ आत्मविश्वास सञ्चार भएको बताए । उनले भने, ‘हामीले जे विषय राखौंला भनेका थियौं, त्यो विषय बिना हिचकिचाहट मन्त्रीज्यूबाट आयो । मन्त्रालयले सञ्चालन गरेको श्रम संसार एप्सबाट आएका उम्मेदवारलाई भर्नाका क्रममा प्राथमिकतामा राख्ने भन्ने बाहेक अन्य विषयमा हाम्रो फरक दृष्टिकोण रहेन ।’

पूर्वसचिव कर्णराज कटुवालले मन्त्री यादवसँग युरोपेली मुलुकको मागपत्र प्रमाणीकरण, सेवाशुल्क परिमार्जन र वैदेशिक रोजगारको श्रम स्वीकृतिका सबै विषय अटोमेसनमा लैजाने तयारीलगायतका विषयमा सकारात्मक छलफल भएको बताएका छन् । 

 युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘फ्रि भिसा फ्रि टिकट– शब्द नै गलत भएको बताउँदै आएका छन् । श्रम मन्त्रालयमा वैदेशिक रोजगार व्यवसायीहरूसँगको अन्तरक्रियामा मन्त्री यादवले ‘फ्रि भिसा फ्रि टिकट’ को ठाउँमा इथिकल रिक्रुटमेन्ट हुनुपर्ने समेत बताए थिए।