बिर्तामोड । 

 बिर्तामोड नगरपालिकाले कृषकहरूलाई अनुदानमा विभिन्न कृषि औजार वितरण गरेको छ। आज आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगिता सिवाले संयुक्त रूपमा कृषकहरूलाई सामग्री हस्तान्तरण गरेका हुन् । 

कृषि विकास शाखाका अनुसार यसपटक कृषकहरूलाई मकै छोडाउने मेसिन २६ थान, स्प्रे ट्याङ्की १४२ थान, ड्याङ लगाउने हलो ५९ थान, झार गोड्ने काँटा २० थान र हर्वना ३० थान वितरण गरिएको छ। नगरपालिकाले मकै छोडाउने मेसिनमा ७० प्रतिशत र अन्य बाँकी सबै औजारहरूमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले कृषकहरूलाई राहत मिलोस् भन्ने उद्देश्यले नगरपालिकाले प्रत्येक वर्ष कृषि सामग्री वितरण गर्दै आएको बताइन् । उनले प्राप्त भएका कृषि औजारहरूको सही सदुपयोग गर्न कृषकहरूलाई आग्रह समेत गरिन् । 

त्यसैगरी नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले कृषक लक्षित यस्ता कार्यक्रमहरूलाई क्रमागतरूपमा अघि बढाइने प्रतिबद्धता जनाए। उनले कृषकको आवश्यकतालाई ध्यानमा राख्दै कृषि विकास शाखा तथा पशुपंक्षी र मत्स्य विकास शाखा मार्फत विभिन्न प्रकारका सहयोग तथा अनुदान उपलब्ध गराउँदै आएको जानकारी दिए।