झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि उम्मेद्वार छनोट निर्णायक चरणमा प्रवेश गरेको छ । बिहीबार उच्च अदालत पाटनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रबन्ध समितिलाई नयाँ कार्यसमितिको निर्वाचन गराउने अधिकार रहेको आदेश जारी गरेपछि उम्मेदवार छनोट प्रक्रिया निर्णायक तहमा प्रवेश गरेको हो ।

संघको चुनावी प्रतिस्पर्धामा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाली कम्युनिस्ट पार्टीनिकट गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूह तथा नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिमा उम्मेदवार छनोटको प्रक्रिया तीव्र बनेको छ ।

संघको आगामी निर्वाचनमा एसोसिएसनका तर्फबाट विघटित कार्यसमितिका द्वितीय उपाध्यक्ष देवकुमार खोखाली, पूर्वमहासचिव मेघनाथ भुर्तेल र प्रज्ञान न्यौपानेको नाम चर्चामा छ । एसोसिएसनको शुक्रबार कार्यसमितिको बैठक बसेर उम्मेदवार टुंगो लगाउने बताइएको छ । भुवनसिंह गुरुङ नेतृत्वको कार्यसमितिको निरन्तरताको पक्षमा दह्रोगरी उभिएको एसोसिएसनले उच्च अदालत पाटनको आदेशपछि मात्रै संघमा प्रतिनिधि पठाउन बिहीबार व्यवसायीलाई औपचारिक आह्वान गरेको थियो ।

मञ्चका तर्फबाट संघका पूर्वप्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’, पूर्वतृतीय उपाध्यक्ष तथा मञ्चका महासचिव मिलन कट्टेल र पूर्वमहासचिव नरेश गेलालले आकांक्षा देखाएका छन् । एकता समितिका तर्फबाट अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री प्रयासरत रहेका छन् ।

कतिपय व्यवसायीले अहिलेको वैदेशिक रोजगार क्षेत्रमा देखिएको जटिलता समाधानका लागि लामो अनुभव संगालेका संघका सल्लाहकार नवराज केसीलाई सर्वसम्मतिले अध्यक्ष बनाउन उचित हुने बताएका छन् । त्यस विषयमा व्यवसायीका बिभिन्न समूहमा छलफल चलिरहेको बताइन्छ । केसीले अहिलेको विषम परिस्थितिमा सबैको सहमति भएमा आफु जिम्मेवारी लिन तयार रहेको बताएको स्रोतको भनाइ छ ।

लोकतान्त्रिक एसोसिएसनका कार्यवाहक महासचिव तुलसी पुरीले अनुभवी तथा अग्रज व्यवसायी केसी संघको नेतृत्व लिन तयार भएको अवस्थामा एसोसिएसनले समय खेर नफाली अविलम्ब केसीको पक्षमा निर्णय गर्नुपर्ने बेला आएको बताए । एशोसिएशनका अध्यक्ष दीपक थापाले उम्मेदवारका आकांक्षीहरुको धारणा लिएर सबै निर्णय बैठकबाटै हुने मध्यान्हलाई बताए । ७ पदाधिकारी र १० सदस्य गरी निर्वाचन हुने सबै १७ पदमा उम्मेदवार उठाउने बताएको स्वतन्त्र व्यवसायी समूहका अध्यक्ष कृष्णप्रसाद ढकालले राति अबेरसम्म बसेर भए पनि उम्मेदवार टुंगो लगाइने जानकारी दिए ।

महासचिवमा एसोसिएसनले पूर्वसचिव कर्णराज कटुवाललाई उम्मेदवार बनाउने बताइएको छ । उता इम्पावर हन्टर एचआर सोलुसनका सञ्चालक युवा व्यवसायी केदारनाथ अधिकारी (दीपेन्द्र) ले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।संघका पूर्व द्वितीय उपाध्यक्ष सञ्जु गुरुङले पनि आफूले स्वतन्त्ररूपमा उपयुक्त पदमा उम्मेदवारी दिन सक्ने बताए ।

गणतान्त्रिक मञ्चको सदस्य भएर जिम्मेवारी सम्हालेका अधिकारी नेपाल उद्योग व्यापार महासंघको हालै सम्पन्न महाधिवेशनमा पनि खुलातर्फ सचिवमा निर्वाचित भएका थिए । उनले संघ कार्यसमितिलाई परिणाममुखी बनाउन आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन् ।