बिर्तामोड ।
मिथिलाञ्चलसहित विशेष गरी मधेसमा मनाइने चारदिने छठ पूजाको दोस्रो दिन आज खर्ना उत्सव मनाइदैछ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईको झापा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत क्षेत्रमा धूमधामका साथ मनाइदैछ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ पर्व मनाउने गरिन्छ ।
चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ । शुरु दिन व्रतालुले जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन आज (बुधबार) खर्ना मनाइन्छ । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (विनानुन हालेको) खानेकुरा खाने चलन छ ।
त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलपूmल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ्य अर्पण गर्नेछन् ।त्यसको भोलिपल्ट अर्थात् शुक्रबार एकाबिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न गर्नेछन् ।
झापाका नदीनालाहरुमा पनि छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । झापाका बिभिन्न नदी किनारमा पन्डाल, र घाट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । झापाको मेची नदी, बिरिङ खोला, कनकाई माई, अधुवा, रतुवा खोला साथै स्थानीय साना तथा ठूला खोलाका किनार, स्थानीय तलाउमा समेत छठको तयारी गरिएको छ । श्री छठ समाज सेवा समिति बिर्तामोडका उपाध्यक्ष मनोज रौनियारका अनुसार बिरिङ खोलामा हुने छठ पूजाका लागि करव ३५० पन्डालको तयारी गरिएको छ जसमा एक हजार ब्रतालुले पूजा गर्न सक्नेछन् । यसैगरी बिर्तामोड–३ स्थित बिर्ताबजारको अदुवा खोलाको किनारमा पनि २०० पन्डाल अर्थात चारसय परिवारका लागि डाला तयार गरिएको छ ।