सुनसरी।

सुनसरीको रामधुनी नगरपालिका–२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई  गत असोज २५ गते बेलुकी ०५ः२० बजेको समयमा गोली हानी हत्या गर्ने सात जना पक्राउ परेका छन् । 

रामधुनी नगरपालिका–२ कर्मनिया टोलस्थित भित्री सडकमा अपरिचित व्यक्तिहरुले गोली प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा संलग्न रहेका ७ जनाको समुहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेहरुमा रामधुनी नगरपालिका–१ का ४३ बर्षीय राजेश भन्ने राजकिशोर साह, ४० बर्षीय नन्दकिशोर साह, भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ बर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका–४ का ३७ बर्षीय गियास मन्सुरी, देवानगन्ज–५ का २५ बर्षीय मिथलेश यादव, सप्तरी राजविराज नगरपालिका–१६ का २८ बर्षीय अंकित साह र राजबिराज–९ का २८ बर्षीय प्रिन्सकुमार दास रहेका छन् । 

गोली प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा मृतक दिनेशकुमार चौधरीले तन्त्रमन्त्र गरी लामो समयदेखि परिवारका सदस्यहरुलाई बिरामी बनाई दुःख हैरानी दिएको कारण राजकिशोर साह र नन्दकिशोर साह समेतले योजना वनाई मोहमद इब्रान मिया लगायतका व्यक्तिहरुसँग रकम लेनदेन गरी दिनेश कुमार चौधरीलाई गोली प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

 घटनामा संलग्न रहेका उनिहरुको गत मंसिर १७ गते सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा म्याद थप गरी आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।