झापा । 

केही दिन अघि झापामा आएको अविरल बर्षाका कारण वाढीले पुलमा क्षति गर्दा आवत–जावत बन्द भएको र  बैकल्पिक पुल निर्माणसँगै स्थानीय उत्साहित भएका छन् ।  समाजसेवी शेरबहादुर थापाको पहल तथा अगुवाईमा झापा गाउँपालिका–५ का स्थानीयको सहयोगमा बैकल्पिक फलामे पुल निर्माण भएपछि स्थानीयले खुसी ब्यक्त गर्दै उत्साहित भएका हुन् । 

झापाको दक्षिणी क्षेत्रका झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका जोड्ने हुलाकी राजमार्ग अन्तरगतको बिरिङ पुल अविरल बर्षासँगै आएको वाढीले गत असोज ११ गते साँझ अन्दाजी ७ः३० बजे भत्काएको थियो । 

shere

पुलको पश्चिमपट्टीको भागमा बाढीले भत्काएपछि आवत–जावतमा समस्या झेल्दै आएका स्थानीय आजदेखि बैकल्पिक फलामे पुलबाट हालका लागि आउन–जान सक्ने भएका छन् । उक्त पुल भत्किएसँगै बाह्रदशी, हल्दीबारी, झापा, कचनाकवल गाउँपालिकाका आफन्तसँग भेटघाट गर्न सहज भएको स्थानीयहरुको भनाई छ । सो पुलबाट पैदलयात्री, साइकल, मोटरसाइकल र अटोमा सञ्चालन गर्न सक्ने भएपनि दशैंका समयमा ठूलो राहत भएको स्थानीयले बताए । 

उनीहरुले बैकल्पिक पुल निर्माणका लागि समन्वय र सहयोग गर्ने सामाजिक ब्यक्तित्व शेरबहादुर थापा, झापा गाउँपालिका–५ का वडाध्यक्ष कृष्णप्रसाद राजवंशी साथै पुल निर्माणमा सहयोग गर्ने सम्पूर्णलाई खुसी ब्यक्त गर्दै हार्दिक धन्यवाद ब्यक्त गरेका थिए । 

निर्माण गरिएको फलामे पुल ६.५ फिटको चौडाई र २४.५ मिटर लम्बाईको रहेको छ । सामाजिक ब्यक्तित्व शेरबहादुर थापाले आफुले अगुवाई गरेर बैकल्पिक फलामे पुल निर्माण भएपनि स्थानीयसहित सवैको ठूलो सहयोग रहेको बताए । उनले आफुले सवै ठाउँमा कुरा गरेपछि केही आश्वासन पाएको र सरकारी काम केही ढिला हुने आफुले पनि बुझेको बताए ।

आश्वासन पाएपछि उनले सामाग्री लिएर काम सुचारु गरेको उक्त पुल निर्माणका लागि हिसाब नभएको भएपनि करिव ३ लाख जती खर्च भएको बताएका छन् । उनले आगामी दिनमा पनि उक्त पुल निर्माणका लागि पहल गर्ने प्रतिवद्धता गरेका छन् । उक्त बैकल्पिक फलामे पुलको उद्घाटन समाजसेवी थापाले नै गरेका थिए । दशैंको बेला सवै आफ्नै परिवारसँग रमाइरहेका बेला सामाजसेवी थापा  र उनकी धर्मपत्नि निर्मला थापा भने  जनताको सेवामा ब्यस्त देखिएका छन् ।  

झापा–५ का वडाध्यक्ष राजवंशीले शेरबहादुर थापाकै कारण फलामे पुल निर्माण गरेर स्थानीयलाई आवत–जावतमा सहज भएको बताए । उनले वाढीले पुल भत्काएपछि २० किलोमिटर रहेको चन्द्रगढी जान सुरुङ्गा, बिर्तामोड हुँदै चन्द्रगढी जाँदा ६५/७० किलोमिटर भएको साथै झापा, बाह्रदशी, हल्दीबारीमा रहेका आफन्त भेट्न निक्कै मुस्किल हुने गरेको बताउँदै आफुसहित स्थानीयले ४ दिन रात श्रमदान गरेर  भएपनि बैकल्पिक फलामे निर्माण गर्न सफल भएको जानकारी दिए । उनले बिशेष गरेर स्थानीय १८/२० जनाले रातदिन खटेर र काम गर्ने मजदुरले पनि एकदमै सहयोग गरेको बताएका छन् ।