झापा । 

आजबाट यस वर्षको बडादशैं भित्रिएको छ ।  आज घर–घरमा घटस्थापना गरेसँगै यस वर्षको दशैं शुरु हुनेछ । पौराणिक कालदेखि मानिँदै आएको नेपालीहरुको महान चाड खुसियालीको उत्सव भगवतीको पूजाआजा गरी मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन शदै मनाइने गरिन्छ ।

महाअष्टमी र महानवमी तिथि एकैदिन परे पनि चौथी तिथी दुई दिन पर्दा समग्रमा यसपालि पनि दशै १५ दिन नै छ । आगामी २० र २१ गते दुई दिन चौथी तिथि परेको छ । आज घरघरमा जमरा राखेर शुरु हुने बडादशैं ३० असोजमा पर्ने कोजाग्रत पूर्णिमाका दिन सकिनेछ । आश्विन शुक्ल प्रतिपदाका दिन बिहीबार पूजाकोठा, दशैंघर अथवा कोतमा दियो कलश र गणेश थापना गरेर बिहान ९ बजेर १६ मिनेटको शुभ साइतमा घटस्थापना गरी नवदुर्गाको स्थापना गरिनेछ । 

पूजाकोठामा घैंटो अथवा घडामा जल भरी माथिपट्टि आँप चाप बरपीपलको पात राख्ने गरिन्छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ । जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । 

घटस्थापना गरिएको स्थानमा थापिएकी देवीलाई नै नवमीका दिनसम्म पूजा गर्ने चलन छ । त्यस स्थानमा दुर्गा सप्तसती र चण्डी पाठ पनि गरिन्छ ।  सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा बलि दिई, हात हतियार र निशानको पूजा गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ । यसरी लिइएको जलले आयु बढ्ने र राम्रो स्वास्थ्य हुने जनविश्वास छ ।

समितिका अनुसार २६ असोज शनिबार विजयादशमीका दिन टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । त्यही दिन बिहान ८ बजेर ३३ मिनेटमा घटस्थापनाका दिन थापिएको देवी भगवतीलाई विसर्जन गरिने शुभ साइत रहेको बिज्ञहरुको भनाई छ ।