बिर्तामोड । 

कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले प्रदेश सरकारले कृषकलाई ब्याजमा अनुदान दिने बताएका छन् । 

कृषि कर्मसहित लघू उद्यम गर्न चाहने कृषकहरुलाई  प्रोत्साहन गर्न प्रदेश सरकारले यस बर्षबाट ब्याजमा अनुदान दिन लागेको बताए ।बैंक तथा वित्तीय जुनसुकै संस्थाबाट कर्जा लिएपनि त्यसमा लाग्ने ब्याज अब प्रदेश सरकारले तिरिदिन्छ  मन्त्री कार्कीले भने ।

प्रदेश सरकारले यो वर्षबाट कृषिलगायतका क्षेत्रमा यस अघि उपलब्ध गराउँदै आएको अनुदानलाई कटौति गर्दै ब्याजमा अनुदान दिने निर्णय गरेको मन्त्री कार्कीको भनाइ छ । सरकारले यस अघि प्रदान गर्दै आएको अनुदानका कार्यक्रममा वास्तविक कृषक भन्दा टाठाबाठा बिचौलियाहरुको हालीमुहाली भएकाले यो वर्षबाट कोशी प्रदेश सरकारले त्यस्ता अनुदानका कार्यक्रमलाई कटौती गरेको उनको भनाई छ ।

patal ganga

नक्कली कृषक बनेर एक दिनका लागि गोठभरि गाईवस्तु र खोरभरि बाख्रा देखाएर टाठाबाठाले सरकारी पैसामा हालीमुहाली गरेको भन्दै मन्त्रीकार्कीले त्यस्तो परिपाटी अन्त्यको लागि प्रदेश सरकारले कृषक लक्षित कार्यक्रमलाई थप प्रभावकारी ब्बनाउन याजमा अनुदान दिन लागेको बताए ।

झापाको बिर्तामोड–५स्थित पताल गंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभाको उद्घाटन गर्नु हुँदै मन्त्री कार्कीले सहकारीबाट लिएको  ऋण तिर्नुपर्दैन भन्ने केही व्यक्तिले हल्ला फिँजाएको र त्यसको पछि नलाग्न उनले सबैलाई आग्रह गरेका हुन् । 

यहाँ केही व्यक्तिले सहकारीबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने हल्ला फिँजाएर बचतकर्ताहरुमा अन्यौलता सिर्जना गरेको बताउँदै तपाईं आफैंले बचत गरेको रकम र खाएको ऋण नतिर्ने हो भने सहकारी संस्थाको अवस्था कस्तो हुन्छ भन्दै मन्त्री कार्कीले प्रति प्रश्न गरे  ।

बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहाको हल्लाको पछि नलाग्न आग्रह गर्दै मन्त्री कार्कीले नेपाल जस्तो देशमा त्यो सम्भव नहुने प्रष्ट पारे ।

 संस्थाका अध्यक्ष युवराज गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बचत तथा ऋण सहकारी संघका केन्द्रीय महासचिव घनश्याम अधिकारी, झापा जिल्ला सहकारी संघका सचिव भवानी दंगाल, झापा जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समितिका राजेन्द्र रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

यसैबीच संस्थाका अध्यक्ष गिरीद्वारा  प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी ८५ लाख ३७ हजार चार सय रुपैयाँ, कोष हिसाबमा ३० लाख ९८ हजार ७५ रुपैयाँ ४७ पैसा, निक्षेपमा एक करोड ३९ लाख ६५ हजार सात सय ३१ रुपैयाँ २८ पैसा, ऋण लगानी दुई करोड दुई लाख २६ हजार नौ सय २९ रुपैयाँ २३ पैसा उल्लेख गरिएको छ ।

समितिका सदस्य कमलसिंह राजवंशीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।सहकारीको बन्दसत्रले युवराज गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।  संस्थाको १६ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा गिरी सर्वसम्मच चयन भएको निर्वाचन समितिका सदस्य उद्धव पुरीले जानकारी दिए ।

त्यसैगरी नवगठित समितिको उपाध्यक्षमा टंकप्रसाद भेटवाल, सचिवमा इन्द्रनारायण श्रेष्ठ र सदस्यहरुमा कमलसिंह राजवंशी, सावित्री देवान, सलाउद्दीन सेख,  बलमाया मुखिया, सूर्य सुब्बा  लिम्बू, सकुन्तला योङया रहेका छन् । लेखा समितिको संयोजकमा हरिप्रसाद दाहाल र सदस्यमा गणेश गिरी र कमला भट्टराई चयन भएका छन् ।

सोही कार्याक्रमकाबिच पूर्वाञ्चलकर्मी अमित खम्बू सम्मानित भएका छन् ।     बिर्तामोड–५मा मुख्य कार्यालय रहेको पताल गंगा बचत तथा ऋण सहकारी संस्थाले वर्ष उत्कृष्ट सञ्चारकर्मीका रुपमा खम्बूलाई नगदसहित सम्मान गरेको हो ।

कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले सम्मान पत्र प्रदान गरेका थिए । सहकारीको क्षेत्रमा विगत लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार खम्बूलाई सहकारीको श्रीवृद्धिमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको बताइएको छ ।

खम्बूसँगै सहकारीमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, ऋणी, ज्येष्ठ सदस्य, कर्मचारीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ज्येष्ठ शेयर सदस्यहरु नरमाया लिम्बू र गंगामाया गिरी, उत्कृष्ट उद्यमी फुलकुमारी तामाङ, उत्कृष्ट बचतकर्ताहरु मानषी लिम्बू, कृतिका पुरी र पुनम चौधरी तथा उत्कृष्ट कर्मचारी बजार प्रतिनिधि कल्पना घिमिरे रहेका छन् ।