बिर्तामोड। 

झापाको बिर्तामोडस्थित होटल होलिडे होममा अन्तर्राष्ट्रिय झापाली समाजको आयोजना र नेपाल समन्वय समितिको संयोजनमा बडा दशैंको पावन अवसर पारेर  जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।  महानवमीको दिन २०८३ कार्तिक ३ गते मंगलबार आयोजित उक्त कार्यक्रममा दशैं बिदामा विश्वका विभिन्न देशबाट आफ्नो जन्मभूमि झापा फर्किएका संस्थाका पदाधिकारी, अभियन्ता, राष्ट्रिय समितिका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा दसैँको शुभकामना आदानप्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय झापाली समाजले विश्वभर सञ्चालन गर्दै आएका सामाजिक तथा परोपकारी गतिविधिहरूबारे विस्तृत समीक्षा गरिएको थियो। छलफलका क्रममा संस्थाले एक विशेष स्मारिका प्रकाशन गर्न लागेको जानकारी गराइएको थियो भने संस्थाले आयोजना गर्ने आगामी कार्यक्रमहरूमा नेपाल समन्वय समितिको भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको थियो। साथै विभिन्न देशमा रहेका राष्ट्रिय समितिहरू र क्षेत्रीय संयोजकहरूले आ–आफ्नो क्षेत्रमा भइरहेका गतिविधि र उपलब्धिहरूबारे जानकारी प्रस्तुत गरेका थिए । 

अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष  नवीन पोखरेल (कतार) को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव  चिरन खवास (बेल्जियम) ले गरेका थिए भने स्वागत मन्तव्य नेपाल समन्वय समितिका संयोजक  राजु थापाले राखेका थिए । स्वास्थ्यका कारण अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईं कार्यक्रममा उपस्थित हुन असमर्थ रहेको महासचिव चिरन खवासले जानकारी दिएका थिए । सो क्रममा महासचिव खवासले बेल्जियममा हुन लागेको सेमिनारबारे जानकारी गराएका थिए भने उपाध्यक्ष नवीन पोखरेलले संस्थाका भावी योजना र कार्यदिशाबारे विस्तृत रूपमा प्रकाश पारेका थिए । 

यसैगरी, कार्यक्रममा नेपाल समन्वय समितिको गठन, यसको आवश्यकता, औचित्य र गतिविधिहरूबारे समेत सहभागीहरूलाई स्पष्ट पारिएको थियो। कार्यक्रममा मध्यपूर्व उप(संयोजक  टिका धिताल (ओमान), युरोप संयोजक  लोकेन्द्र नेपाल (बेल्जियम), झापाली समाज साउदी अरबका निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय झापाली समाजका सह–कोषाध्यक्ष रबिन गिरी र नेपाल समन्वय समितिका सचिव सुदर्शन रोका लगायत विश्वका विभिन्न मुलुकबाट प्रतिनिधित्व गर्ने अभियन्ताहरूको उपस्थिति रहेको थियो। उनीहरुले आफ्नो जिम्मेवारीका क्षेत्रको गतिविधिसहित शुभकामना व्यक्त गरे ।

त्यस अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विश्वका विभिन्न कुनामा छरिएर रहेका झापालीहरूबीचको आत्मीयता र भाइचारालाई थप मजबुत बनाउन यो भेटघाट कार्यक्रम अत्यन्तै फलदायी र अर्थपूर्ण बनेको त्यस अवसरमा बताइएको थियो ।