दुर्गापुर ।
झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा प्रभु बैंक लिमिटेडको ३१४ औं शाखा सञ्चालनमा आएको छ । कोशी प्रदेशको ३९ औं र झापाको ५ औं शाखाको रुपमा दुर्गापुरमा स्थापना भएको शाखाको आज (बिहीवार) उद्घाटन भएको हो । शाखाको उद्घाटन प्रभु बैंक लिमिटेडका सञ्चालक समिति अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि लीलाप्रकाश सिटौलाले गरेका छन् ।
कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा, शिक्षक राजन कार्की, पूर्व शिक्षक अनिरुद्र ओली, महिला उद्यमी सरला पोखरेल, भृकुटी माविका पूर्व अध्यक्ष बालकृष्ण सिटौलालगायतले बैंकको सफलताको शुभकामना दिएका थिए ।
शाखा सञ्चालनको शुभकामना दिदै वक्ताहरूले दुर्गापुरमा राष्ट्रिय स्तरको बैंक नभएको अवस्थामा प्रभु बैंकको शाखाले त्यहाँको जनजिविका उकास्नु मद्दत मिल्ने विश्वास व्यक्त गरे ।
झापामा काँकरभिट्टा, दमक, भद्रपुर, बिर्तामोडपछि पाँचौं शाखाको रूपमा दुर्गापुर शाखा सञ्चालनमा आएको शाखा प्रमुख शिशिर घिमेरे बताए ।आज उद्घाटनकै दिन २७० बढीले खाता खोलेकोसमेत उनले बताए । यस क्षेत्रको आर्थिक चलायमान बनाउन बैंक शाखा सञ्चालनमा आएको उनले जानकारी दिए ।
घिमिरेका अनुसार बैंकमा वेलकम सेबिङ, खुत्रुके सेबिङ, सेलरी सेबिङ सिनियर सिटिजन सेबिङलगायतका खाताहरु खोलिनेछन् । बैंकका कोशी प्रदेश व्यापार अधिकृत बद्रीकुमार कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बैंकका शाखा प्रमुख शिशिर घिमिरे र सञ्चालन बैंकका कोशी प्रदेश प्रमुख दिपक पौडेलले गरेका थिए ।