बिर्तामोड । 

जन्मजात तथा जन्म पश्चात हुने अपाङ्गता न्युनिकरण एवम् अपाङ्गता भएका ब्यक्तिहरुसहितको समावेशी समाजको निर्माण गर्ने लक्ष्यका साथ कोशी प्रदेशमा बिविध कार्यक्रम सञ्चालन भइरहेका छन् । कोशी प्रदेश अन्तरगत सामाजिक विकास मन्त्रालय, स्थानीय तह र करुणा फाउण्डेशन नेपालको साझेदारीमा अपाङ्गताको जीवनस्तर सुधार गर्न अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन भइरहेको हो । 

सामाजिक विकास मन्त्रालय कोशी प्रदेश बिराटनगरको आयोजना तथा करुणा फाउण्डेशन नेपाल र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोशीको सहकार्यमा झापाको बिर्तामोडमा मंगलबार (आज) अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सम्बन्धी अभिमूखिकरण भएको हो । 

सोही कार्यक्रममा नेपालमा ६ लाख ६१ हजार ६२१ जना अपाङ्ता भएका मानिस रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।  उक्त तथ्याङ्क मध्य कोशी प्रदेशमा एक लाख १९ हजार ७४ जना र झापामा २३ हजार ९५३ जना अपाङ्गता भएको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । 

सामाजिक विकास महाशाखाकी प्रमुख दुर्गा बरालले अभिमूखिकरण कार्यक्रमको सहजीकरण गर्दै उक्त तथ्याङ्क सार्वजनिक गरेकी हुन् । उनका अनुसार बिद्यालय जाने उमेर समुहका अपाङ्गता भएका बालबालिकाहरुको शिक्षामा पहुँच एकदमै न्यून, सामुदायिक बिद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकाहरुको छात्रवृत्तिमा समेत पहुँच न्यून रहेको छ । रातो परिचयपत्र नभएका अपाङ्गको बिमा एकदमै न्यून, बिद्यालय, स्वास्थ्यलगायतका सार्वजनिक भौतिक संरचनाहरुमा पनि न्यून साथै नयाँ बन्ने संरचनाहरुमासमेत पहुँच युक्त मापदण्ड अनुसार नभएका महाशाखा प्रमुख बरालले प्रस्तुतीका क्रममा जानकारी दिएकी छिन् ।  अपाङ्गताका लागि नीतिगत ब्यवस्थाहरु भएका भएपनि उनीहरुको रोजगारमा पहुँच हुन नसकेका कारण राष्ट्रिय आयमा योगदान पुर्याउन नपाएको उनको भनाई छ । बरालले कोशीका १३७ वटै स्थानीय तहका उक्त कार्यक्रम सञ्चालन गर्ने बताएकी छिन् । 

प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशन नेपालको साझेदारीमा हाल कोशी प्रदेशका १०७ वटा स्थानीय तहमा उक्त कार्यक्रम सञ्चालन रहेको करुणा फाउण्डेशनका निर्देशक योगेन्द्र गिरीले प्रस्तुतीका क्रममा जानकारी दिए । नवजात शिशु तथा १० बर्षमुनीका बालबालिकाको स्वास्थ्य जाँच गरी हुनसक्ने अपाङ्गताको पहिचान र ब्यवस्थापन गर्ने, अपाङ्गता भएका ब्यक्ति र उनीहरुका परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने, स्थानीय तहमा रहेर लक्षित समुहलाई सेवा प्रदान गर्ने साथै सरकारी संरचनाको सुदृढीकरण गर्ने उदेश्यले करुणा फाउण्डेशनले कार्यक्रमहरु सञ्चालन गर्दै आएको गिरीले बताए । 

कार्यक्रममा करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दीपकराज सापकोटाले फाउण्डेशनले अहिलेसम्म गरेका कार्यप्रगति विबरण र आगामी कार्ययोजनाका बारेमा जानकारी दिएका थिए । 

आर्थिक बर्ष २०७६/०७७ बाट कार्यक्रम शुरु गरेको र पहिलो चरणमा मोरङ, सुनसरी, धनकुटा र पाँचथरका २८ स्थानीय तह, २०७७/०७८ दोस्रो चरणमा मोरङ, सुनसरी, भोजपुर र संखुवासभाका ३१ स्थानीय तह, २०८०/०८१ तेस्रो चरण सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र उदयपुरका ३४ स्थानीय तह र २०८१/०८२ चौथो चरणमा ताप्लेजुङ, तेह्थुम र झापामा ३० वटा स्थानीय तहहरुमा कार्यक्रम सञ्चालन गरिने सापकोटाले जानकारी दिए । 

 सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईको अध्यक्षतामा भएको अभिमूखिकरण कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा कनकाई नगरका मेयर राजेन्द्रकुमार पोखरेल, उपमेयर आशाशर्मा शिवाकोटी, मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, हल्दीबारीकी उपाध्यक्ष लक्ष्मीदेबी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), शिवसताक्षीका प्रमुख प्रशासकीय अधिकृत अमृत राई, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, झापाका स्थानीय तहका स्वास्थ्य प्रमुख तथा प्रतिनिधि, शिक्षा क्षेत्रका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघ/संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सामाजिक विकास महाशाखाकी शाखा अधिकृत समिक्षा निरौलालले गरेकी थिइन् ।