- सुदिपबाबु खवास
म एउटा सामान्य मजदुर किसानको छोरा हुँ । म सामान्य घरमा जन्मेर समान्य जीवन जिउँदै हुर्केको हुँ । बिगत केही वर्ष यतादेखि म बिचलित भएको छु ।
किन किन मलाई सास फेर्न पनि गाह्रो भैरहेको छ । मलाई लाग्छ यो अवस्था म मा मात्र नभएर देशमा भएका अधिकांश युवा पिढीहरुको समस्या हो । यो समस्याले जर्जर्ता पाएको अनुभूति मैले गरेको छु ।
![](/uploads/advertise/amiti collage_1719659707.jpg)
सर्वप्रथम त साँच्चिकै कुरा गर्ने हो भने देशको शैक्षिक प्रणाली हेर्दा बिरक्त लागेर आउन थालेको छ । आज युरोपियन देशहरुको शैक्षिक प्रणाली हेरौं कस्तो छ ? त्यति मात्र नभएर छिमेकी मुलुक चीन र जापानको शैक्षिक प्रणालीलाई हेरौं कस्तो छ ? के सधंैभरी इतिहासका कुराहरु मात्र पढेर हामीले भविश्य निर्माण गर्न सक्छौ होला ? फेरी यस देशमा पढेर मात्र आखिरीमा के चैं पाहिदो रहेछ र ! मलाई लागेको र मैले महसुस गर्दा पाइदैन् ! यहाँ त केही हुँदैन ।
देशको अस्थिर राजनीति, निरन्तर सरकार परिवर्तन, जसको प्रत्यक्ष असर हामी बिद्यार्थी तथा युवा पिढीहरुमा पर्न गएको छ । यस्ता विषय बस्तुहरुमा कसले बोल्दिने ? हाम्रो पीडा, मर्म र भावना कसले बुझिदिने ? समग्रमा भन्नू पर्दा आज नेपाल सरकारले हाम्रो जिउँदो हत्या गरिरहेको प्रस्ट देख्न सकिन्छ ।
![](/uploads/advertise/bells add 2_1719834723.jpg)
शसस्त्र जनयुद्ध पश्चात बि.स. २०६२÷६३ पछि देशमा आमूल परिवर्तन आयो । सिङ्गो देशमा हर्सो उल्लास छाएको तितो अनुभूति मैले पनि धेरै थोरै गरेको छु । खै देशमा गणतन्त्र आयो अरे, नागरिक तथा सर्वसाधारण जनता, मजदुर, किसान, जातिय उत्पिडकहरुको लागि ठुलै ब्यवस्था परिवर्तन भयो अरे भन्ने नि थाहा पाउन पुगे ।
तर, फेरि त्यही ब्यवस्था परिवर्तन गर्नेहरुको मुखबाट ब्यवस्था त परिवर्तन गर्यौ तर अवस्था ज्युको त्यु छ भन्ने गरेको नि मैले यहि कानले सुन्न पुगे ।
अनि यस्तै यस्तै कारणहरुले पनि आज हामी युवाहरु बिचल्लीमा परिरहेका छौ । यहाँ जति नै शिक्षा लिए पनि आखिरिमा उच्च शिक्षा हासिलको लागि किन युवा तथा बिद्यार्थीहरु बिदेश जाने हुटहुटिले जागृत भएका छन् ?
![](/uploads/advertise/newtons add_1719832473.jpg)
सरकार यो बिषयमा कहिले गम्भिर हुने ? अचम्म लाग्दो त कुरा यहाँ छ, नेपाल सरकारको तत्याङ्ख अनुसार जन गणना अनुसार हाम्रो कुल जनसङ्ख्या करिब तीन करोडको हाराहारीमा छ भन्ने देखाउछ ।
तर, वास्तवमा भन्नू पर्दा त्रिभुवन विमान स्थलमा वैदेशिक रोजगारी तथा उच्च शिक्षा हासिलको लागि भनेर दैनिक दुई हजारदेखि तीन हजारसम्म युवा तथा बिद्यार्थीहरु बिदेश जाने गरेका छन् ।
तर हामी अझै पनि लाज नपचि जहिले पनि हाम्रो कुल जनसंख्या तीन करोड भन्न अलिकती पनि हिचकिच्याउँदैनौ । आखिरि कहिले हुन्छ युवा बिदेश भासिने सोचको अन्त्य ? कहिलेसम्म रेमिट्यान्सबाट सरकार चल्ने ? कहिले हुन्छ शैक्षिक प्रणालीमा नयाँ फड्को ? किन सञ्चालनमा आउदैनन् बन्द भएका अधिकांश उद्योग र कलकाराखानाहरु ? कहिलेदेखि शुरु हुन्छन् नयाँ उद्योग कल कारखानाहरु ? अझै कति गर्ने जुङ्गाको लडाइ ? किन आउदैन स्वरोजगार तथा युवा अभिमुखी कार्यक्रमहरु ? किन लिदैन ब्यवहारिक शिक्षाले फड्को आखिरिमा कहिलेसम्म हाम्रो जिउदो हत्या गरिरहने ?
यस्तै यस्तै धेरै प्रश्नहरुले रुमलिरहेको, धेरै प्रश्नहरु छन् मसँग यसको जवाफ कसले दिने ? दिने नै हो भने काल्पनिक होइन ब्यवहारिक र ठोस निर्णय दिनुपर्यो । अब खोक्रा वचन र प्रतिबद्धतामा हामी बिश्वास राख्ने छैनौ ।
म आज पनि महसुस गर्छु काठमाडौ त्रिभुवन विमान स्थलमा बाकसमा आउने दैनिकी युवा साथीहरुलाई हेरेर, अनि ती साथीहरुको परिवार जनमा परेको पीडा र र मर्मलाई कहिलेकाही सम्झिदै गर्दा भक्कानो फुटेर आउने गर्छ । जुन नेपाल सरकारले हाम्रो लागि बनाइदिएको त्यो पासपोर्ट, तर म त्यसलाई कुनैपनि अवस्थामा पासपोर्ट मान्न सक्दिन । त्यो त हाम्रो लागि जिउँदो हुँदा बनाइएको एक प्रकारको मृत्यु दर्ता रहेछ । जुन आज आएर बुझ्दैछु र अवलम्बन गर्दैछु ।
अति भयो, अब त पराकाष्ठ नै भयो त्यसैले अब बन्द गरौ सरकार युवालाई जिउदै मार्ने काम । देशका अधिकांश युवाहरुलाई त सुनुयोजित तरिकाले मारिनै सक्यौ, अब त शैक्षिक क्षेत्रलाई समेत निसाना बनाउन थाल्यौ है ?
किन उच्च शिक्षाको लागि यहि अध्ययन गर्ने वतावरण मिलाउदैनौ ? अझै पनि यस्तै भए अबको १० वर्ष भित्रमा सिङ्गो देशमा भएका कलेज तथा क्याम्पसहरु बन्द हुनेछन् । हामी सबैको खुल्ला तथा नाङ्गो आँखाले देखिसकेका छौ । त्यसैले पनि म सम्पूर्ण न्ययप्रेमी, देश भक्त, युवा वर्गहरुलाई समाजवादको अनुशरण नगरी अब देश बन्दैन भन्ने कुराना बिस्वस्त दिलाउन चाहान्छु ।
अब पनि युवा साथीहरु तपाई हामी एकजुट भएर हातमा हात अनि काँधमा काँध मिलाएर अघि बढ्न सकेनौ भने अबको केही बर्षपछि हेर्दै जानुहोला यी भोका नाङ्गो ब्वासोहरुले तपाइ हाम्रो भाइबहिनीहरुको भबिश्य अन्धकार पार्ने छन । जसको फल स्वरुप बिस्तारै हाम्रा सम्पूर्ण कलेज तथा क्याम्पसहरुमा स्नातक तहका कक्षा कोठाहरु बन्द हुनेछन् भने कतिपय ठाउँहरुमा त बन्द हुन थालिसकेको अवस्था छ, जुन तपाई हामीले स्पष्ट देखिरहेका छौ ।
म सम्पुर्ण युवा तथा बिद्यार्थी साथीहरुलाई यो अपिल गर्न चाहान्छु । अफैपनि तपाईं हामी भएर देशलाई साँच्चिकै समाजवादको सहि मार्ग दर्शनको दिशातर्फ नलाने हो भने आगामी दिन अझ कठिनपूर्ण छ । त्यसैले युवा पिढीले देशलाई समाजवादको सहि मार्ग दर्शनको दिशातर्फ उन्मुख गराउन जरुरी रहेको छ । यहाँ जनताको लास माथि फोहोरी राजनीति गर्न रत्तीभरी पनि डराएनन केही फोहोरी राजनीतिका पात्रहरु । त्यसैले अबको अन्तिम मार्ग भनेको नै समाजवादी मार्ग भएको सम्पूर्ण युवा साथीहरुलाई समाजवादका सिद्धान्तसहित एकजुट भएर अघि बढ्न म हार्दिक अपिल गर्दछु ।