• अभिषेक खतिवडा 

हल्दीबारी । 

जलथल जंगल आसपासका क्षेत्रमा जङ्गली हात्तीको आतंक दिनप्रतिदिन बढ्दै जाँदा मानव बस्ती मात्र होइन, धार्मिक तथा पर्यटकीय स्थलसमेत असुरक्षित बन्न थालेका छन्। पछिल्ला दुई दिनमा हल्दिबारीका दुई महत्वपूर्ण धार्मिकस्थलमा हात्ती प्रवेश गरी भौतिक संरचनामा क्षति पुर्‍याएपछि स्थानीयवासीमा त्रास थप बढेको छ।

मंगलबार बेलुका हल्दीबारी गाउँपालिका–३ स्थित स्वर्गद्वारी मन्दिरमा जङ्गली हात्तीले ठूलो क्षति पुर्‍याएको छ। राति करिब २ बजेतिर बस्ती प्रवेश गरेका दुई वटा हात्तीले मन्दिरको ग्रिल, मुख्य गेट, पिल्लर लगायतका भौतिक संरचना भत्काउनुका साथै पुजारी बस्ने स्थलमा प्रवेश गरी राखिएको अन्नबाली खाएको तथा नष्ट गरेको मन्दिरका पुजारी मित्र तिम्सिनाले जानकारी दिए।

स्वर्गद्वारी मन्दिरमा भएको क्षतिको त्रास सेलाउन नपाउँदै बुधबार बेलुका करिब १ः३० बजेतिर ४वटा जङ्गली हात्ती हल्दिबारी–४ स्थित पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय क्षेत्रमा प्रवेश गरेका छन्। हात्तीले पाथीभरा मन्दिरको मुख्य भवनको दक्षिणतर्फको पर्खालमा समेत क्षति पुर्‍याएका छन्।

पछिल्लो समय जलथल जंगलबाट निस्कने जङ्गली हात्तीले हल्दिबारीका विभिन्न बस्तीमा प्रवेश गरी घर, अन्नबाली, धार्मिकस्थल तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याउँदै आएका छन्। रातको समयमा हात्तीको आवागमन बढेपछि स्थानीयवासीलाई घरबाट बाहिर निस्कनसमेत डराउनुपर्ने अवस्था सिर्जना भएको छ।

जलथल–हल्दिबारी क्षेत्रमा मानव–हात्ती द्वन्द्व नयाँ विषय होइन। हात्तीको आक्रमण र त्यसबाट हुने क्षतिका कारण स्थानीयले लामो समयदेखि जोखिमपूर्ण जीवन बिताउँदै आएका छन्। जंगल आसपासका क्षेत्रमा दैनिक कामकाज, खेतीपाती तथा आवतजावत गर्ने क्रममा समेत स्थानीयले हात्तीको जोखिम सामना गर्नुपरेको छ। विगतमा यस क्षेत्रमा जङ्गली हात्तीका कारण मानवीय क्षतिका घटनासमेत भएका कारण आगामी दिनमा ठूलो दुर्घटना हुनसक्ने चिन्ता झन् बढेको छ।

अब हात्तीले मन्दिरको गेट र पर्खाल भत्काउन थालेको छस राज्यले मानवीय क्षति हुनुअघि नै गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ। हात्तीको प्राकृतिक बासस्थान र आवतजावत गर्ने मार्गको संरक्षणसँगै मानव बस्तीको सुरक्षा सुनिश्चित गर्ने दीर्घकालीन योजना तत्काल आवश्यक देखिएको छ।

स्थानीयवासीले संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, वन तथा वातावरणसँग सम्बन्धित निकाय र सुरक्षा संयन्त्रलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। हात्तीको नियमित आवागमन हुने क्षेत्र पहिचान गरी सुरक्षित करिडोर व्यवस्थापन, पूर्वसूचना तथा निगरानी प्रणाली, रात्री गस्ती, जोखिमयुक्त क्षेत्रमा सुरक्षा पूर्वाधार, क्षतिको तत्काल मूल्याङ्कन र सहज राहत–क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ।

हात्ती संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्दै वैज्ञानिक तथा दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ। स्थानीयवासीको प्रश्न स्पष्ट छ—धार्मिकस्थलको संरचना भत्किएपछि पनि सरकार मौन बस्ने हो कि मानवीय क्षति हुनुअघि नै ठोस कदम चाल्ने हो ? जलथल–हल्दीबारीमा बढ्दो मानव–हात्ती द्वन्द्व अब सामान्य वन्यजन्तु समस्या मात्र रहेन, यो मानव जीवन, सम्पत्ति, धार्मिक सम्पदा र स्थानीय पर्यटनसँग प्रत्यक्ष जोडिएको गम्भीर सुरक्षा चुनौती बनेको छ।