बिर्तामोड । 

झापाको बिर्तामोमा सञ्चालित  होटल हिकोला हेरिटेज प्रालिले बिभिन्न कार्यक्रमसहित स्थापना दिवस मनाउने भएको छ । पूर्वी नेपालको पर्यटन, आतिथ्य तथा स्थानीय कला–संस्कृतिको प्रवर्द्धन गर्दै आएको होटल हिकोलाले यात्राको १२ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेशको अवसरमा भदौं  ४ गते पर्यटनसँगै साहित्य, संगीत र कलालाई जोडेर विशेष कार्यक्रम गर्ने भएको आज (मंगलबार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । 

होटलले साहित्य चौतारीको प्रेक्षालयमा विशेष कार्यक्रम आयोजना गर्ने जनाएको हो। होटलले आफ्नो विगतको यात्रा, वर्तमान अवस्था, आगामी योजना तथा पर्यटन, साहित्य, संगीत र कलासँग जोडिएको सामाजिक–सांस्कृतिक अभियानबारे पनि पत्रकार सम्मेलनमा जानकारी गराएको छ।

 होटल हिकोला हेरिटेज प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठले होटलले १२ वर्षको यात्रामा हासिल गरेका उपलब्धि, सामना गरेका चुनौती र आगामी योजनाबारे जानकारी गराएका थिए । उनले पर्यटन प्रवर्द्धनमा हेरिटेजको भूमिका, काँकरभिट्टामा शाखा विस्तारको विषय, शाखासँग सम्बन्धित वर्तमान कानुनी अवस्था तथा पूर्वी नेपालको पर्यटन विकासमा साहित्य, संगीत र कलाको भूमिकाबारे समेत प्रकाश पारेका छन् । 

 १३औँ वर्ष प्रवेशको अवसरमा होटलले आफ्नो यात्रामा प्रत्यक्ष तथा परोक्ष रूपमा योगदान पुर्‍याउने विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान तथा कृतज्ञता व्यक्त गर्ने कार्यक्रमसमेत राखिएको सञ्चालक श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उत्कृष्ट कर्मचारी, उत्कृष्ट सेवाग्राही तथा ग्राहक, विशिष्ट अतिथि, सहयोगी व्यक्तित्वका साथै साहित्य, संगीत र कला क्षेत्रका विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने छ । 

कार्यक्रममा सरगम संगीत विद्यालय, चर्चित गायिका जुनु गौतम लगायतलाई समेत सम्मान गरिने श्रेष्ठले जानकारी दिए । साथै लामो समयदेखि होटलको यात्रामा साथ, सहयोग र सद्भाव प्रदान गर्ने व्यक्तित्व तथा संस्थालाई सम्मानमार्फत कृतज्ञता व्यक्त गरिने उनको भनाई छ । कार्यक्रममा साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिसमेत रहनेछन्। नेपाली मौलिक सिर्जना, संगीत र कलामार्फत पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनालाई कार्यक्रमका प्रस्तुतिहरूमार्फत उजागर गरिने श्रेष्ठले बताएका छन् ।

होटलले १३औँ वर्षमा प्रवेशसँगै आगामी दिनमा सेवा गुणस्तर, स्वच्छता, अतिथ्य सत्कार, ग्राहक सन्तुष्टि, पर्यटन प्रवर्द्धन तथा स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई अझ प्राथमिकताका साथ अघि बढाउने जनाएको छ। यसका लागि सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउँदै अतिथिको सन्तुष्टिलाई केन्द्रमा राखेर नयाँ योजना अघि सारिने पत्रकार सम्मेलनमा वितरित प्रेस नोटमा उल्लेख छ।

होटलले आफ्ना नियमित तथा नयाँ ग्राहकलाई लक्षित गरी एक महिनासम्म विशेष छुट तथा विभिन्न सुविधा उपलब्ध गराउने बताउँदै प्रबन्ध निर्देशक श्रेष्ठले होटल हिकोला हेरिटेजमा नियमित आउने ग्राहकहरूलाई समेत यो विशेष सुविधा लागू हुने बताएका छन्।

होटलको औपचारिक शुभारम्भ २०७२ साल भदौ ४ गते गरिएको थियो । होटलका सञ्चालक गौरव श्रेष्ठले पनि युवाहरुलाई आफ्नै देशमा केही गर्ने इच्छा हुँदाहुँदै पनि विदेशीनु पर्ने बाध्यता बन्ने गरेकोे बताए । उनले देशको राजनीतिक उथलपुथलका कारण पनि युवाहरु बिदेशिनु पर्ने बाध्यता भएको बताउँदै आफ्नै देशमा केही गर्ने इच्छा भएका युवाहरुलाई अवसर प्रदान गर्नुपर्नेमा जोड दिए ।