झापा ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (वैरो)ले श्रमिक भर्ना प्रक्रियामा देखिएका प्रक्रियागत त्रुटिहरूको सूक्ष्म अध्ययन गरी विभिन्न निकायसँग छलफल सुरु गरेको जनाएको छ । सोही क्रममा मंगलबार संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’को नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्य र निर्देशकहरूलाई भेट गरी कोटा क्यान्सिल, पूर्व र अन्तिम स्वीकृतिमा देखिएका समस्या, उजुरी तथा त्यसका प्रकृति, फरफारकका पद्धतिलगायतका विषयमा छलफल गरेको संघका महासचिव हिराबहादुर डाँगी (हरि) ले जानकारी दिए ।
छलफलपछि महानिर्देशक आचार्यले विभागबाट व्यवसायीका व्यवहारिक विषयलाई हदसम्म सहजीकरण गर्ने सकारात्मक जवाफ प्राप्त भएको पनि महासचिव डाँगीले बताए । संघले श्रम गन्तव्य मुलुकका दूतावाससँग पनि छलफल सुरु गर्ने जनाएको छ । संघले विभागको कारबाहीमा परेका ५९८/३९/१२४ समूहका व्यवसायीको गुनासो सहजीकरण र त्यसको न्यायिक व्यवस्थापनका लागि संघका तृतीय उपाध्यक्ष तथा वैदेशिक रोजगार विभाग समन्वयका संयोजक लक्ष्मण पौडेललाई सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
संयोजक पौडेलले विभाग र संघको सूचना अनुसार अनलाइन विवरण बुझाएर मिसम्याच भएकालाई तत्कालै विवरण बुझाउन आग्रह गरेको बताए । उनले यसअघि कारबाहीको सूचीमा परेकाहरूमध्ये १८ व्यवसायीले फिजिकल अर्थात् विवरणको सक्कल प्रति बुझाएका कारण सफाइ पाएको भन्दै विभागमा तत्कालै विवरण बुझाउन आग्रह गरे । संयोजक पौडेलले विवरण मिसम्याच भएका व्यवसायीले कम्तीमा एक–दुई दिनभित्रै विवरण बुझाउने वातावरण बनेको पनि जानकारी दिए ।
विवरण बुझाउने व्यवसायीलाई विभागले सकारात्मक तरिकाले लिइरहेको भन्दै पौडेलले आफूले विवरण बुझाएको मेलको अर्धकट्टी वा निवेदनका प्रतिलिपि बुझाउन पटक–पटक भ्वाइस म्यासेज पठाउँदा करिब २४ व्यवसायीले कुनै विवरण नपठाएको पाइएको बताए । पौडेलले सकेसम्म छिटो आफूसँग रहेको प्रमाण विभागमा पेस गर्न पनि आग्रह गरे ।


















