झापा । 

 साउन महिनामा करिब ७० हजार वढी कामदार वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । ४१ हजार ८ सय ८९ जना नेपालीले नयाँ काम खोज्दै पहिलोपटक वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । 

 साउनमा ७० हजार ४ सय ४१ जनाले सबै प्रकारको श्रम स्वीकृति लिएका छन् । त्यसमध्ये नयाँ श्रमिकको संख्या ४१ हजार ८ सय ८९ जना रहेको वैदेशिक रोजगार विभागले मासिक रूपमा सार्वजनिक गर्ने प्रगति विवरणमा उल्लेख छ । त्यसमा संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत जान श्रम स्वीकृति लिएको संख्या २९ हजार ४ सय ४७ र व्यक्तिगत श्रम स्वीकृति लिने श्रमिकको संख्या १२ हजार ४ सय ४२ रहेको छ ।

विभागको तथ्यांकअनुसार म्यानपावर कम्पनीमार्फत साउनमा युएईमा ९ हजार ३ सय ७५ जना, मलेसियामा ९ हजार १ सय ७०, साउदी अरेबियामा ३ हजार ७ सय ६९, कुवेतमा २ हजार ५ सय ५, कतारमा १ हजार ८ सय २५, साइप्रसमा ८ सय ६४, ओमानमा ८ सय ७, बहराइनमा ३ सय ७, माल्दिभ्समा २ सय ४२, जोर्डनमा २ सय ४२, जापानमा २ सय ३७, मौरिससमा ९५, मकाउमा ८ र हङकङमा १ जना गएका छन् ।

साउनमा २७ हजार ७ सय ४८ जनाको पुनः श्रम स्वीकृति भएको छ । सरकारले ‘जिटुजी’ मार्फत पठाउने दक्षिण कोरिया र इजरायलका लागि ७ सय १२ जनाको श्रम स्वीकृति भएको छ । समग्रमा साउनमा मुख्य श्रम गन्तव्य युएईमा सबैभन्दा बढी १८ हजार ७ सय ८४ जनाको श्रम स्वीकृति भएको छ । त्यसपछि मलेसियाका लागि १२ हजार ४ सय ९८, कतारका लागि १० हजार ३ सय ६० र साउदी अरेबियाका लागि ८ हजार ६ सय १३ जनाको श्रम स्वीकृति भएको छ ।

सरकारले युरोपेली मुलुकहरूको मागपत्र प्रमाणीकरण सहज नबनाउँदा नेपाली श्रमिकका लागि खाडी मुलुक र मलेसिया नै परम्परागत र बाध्यताको गन्तव्यका रूपमा रहेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूले ठुलो जनादेशबाट बनेको सरकारले कम तलब र जोखिमयुक्त गन्तव्य परिवर्तनका लागि ठोस पहल नगरेको गुनासो गरेका छन् ।

यस्तै साउन महिनामा ५ दर्जन बढी म्यानपावर कम्पनीले सय वा सो भन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा पठाएका छन् । प्याराडाइज इन्टरनेसनल प्रालिले  ४ सय ९८ जना कामदार वैदेशिक रोजगारीमा पठाउँदै सूचीको पहिलो स्थानमा छ ।

आकर्षण इन्टरनेसनल प्रालिले ४ सय ९२ जना कामदार पठाउँदै दोस्रो र अल स्किल इन्टरनेसनल ह्युमन रिसोर्स प्रालि ४ सय १२ जना कामदार पठाउँदै तेस्रो स्थानमा रहेका छन् । साउन महिनामा करिव ६५ वटा म्यानपावरले एक सय भन्दावढी कारमदारहरु पठाउन सफल भएका बिभागको तथ्याङ्कले देखाएको छ ।