इतिहासले केही भूगोललाई केवल नक्सामा मात्र होइन, चेतनामा अमर बनाइदिन्छ। झापा त्यस्तै भूगोल हो—जहाँ कम्युनिस्ट आन्दोलन विचार मात्र रहेन, जीवन बन्योः नारा मात्र रहेन, बलिदान बन्योः संगठन मात्र रहेन, जनआन्दोलन बन्यो। आज केही निराशा, अन्योल र थकान देखिनु अस्वाभाविक होइन। तर हामीले यो स्पष्ट बुझ्नुपर्छ—निराश हुनु, आन्दोलनबाट भाग्नु वा निष्क्रिय हुनु झापाली कम्युनिस्ट आन्दोलनको परम्परा होइन। झापाको इतिहास नै प्रतिरोध, त्याग र निरन्तर संघर्षको इतिहास हो।
झापाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमि:
२०२८ सालका महान सहिदहरूले सामन्ती–पञ्चायती निरंकुशताविरुद्ध उठाएको विद्रोह केवल एउटा घटना थिएन, त्यो चेतनाको विस्फोट थियो। त्यो आन्दोलनले देखायो—सङ्गठित किसान र क्रान्तिकारी युवाशक्ति सत्ताको अन्यायपूर्ण संरचनालाई चुनौती दिन सक्षम हुन्छन्। झापा त्यस दिनदेखि ‘डर मान्ने भूमि’ रहेन, ‘साहस जन्माउने भूमि’ बन्यो।
२०४६ सालको जनआन्दोलनमा झापाले फेरि प्रमाणित गर्यो—जनताको संगठित शक्ति इतिहास बदल्न सक्छ। भूमिगत राजनीति, खुला संघर्ष, जेल–नेल र बलिदान—यी सबैको केन्द्रमा झापा थियो।
त्यसपछि २०५२–२०६२र६३ को महान जनयुद्ध र जनआन्दोलनले झापालाई केवल सहभागी मात्र होइन, वैचारिक र सांगठनिक रूपमा समेत महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्यो। यी सबै चरणले झापालाई कम्युनिस्ट आन्दोलनको प्रयोगशाला बनाएका छन्।
आजको यथार्थ स् कमजोरी स्वीकार, क्रान्तिकारी दिशाको पुनःखोज, सबै नेता कार्यकर्ताको न्यायोचित भूमिका , म ठूलो त्यो को हो र रु म सिनियर त्यो जुनियर वा त्यो अर्को पार्टी बात आएको जस्ता अहंकार मिश्रित भाषा बोली र व्यवहार ततकार सचिनु पर्छ ।
हामीले इमानदारीपूर्वक स्वीकार गर्नुपर्छ—आज पार्टी र जनताको सम्बन्ध कमजोर भएको छ। नेतृत्वका कमजोरी, संगठनभित्रको गुटबन्दी, वैचारिक स्पष्टताको अभाव, र जनजीवनसँग दूरी—यी सबै यथार्थ हुन्। स्थानीय तहका नेताहरूको व्यवहार, कार्यशैली र उत्तरदायित्वबोधको कमीले पनि निराशा जन्माएको छ।
तर कमजोरी देखिनु नै अन्त्य होइन। इतिहासमा हरेक ठूलो रूपान्तरण आत्मालोचनाबाटै सुरु भएको छ। आज झापामा २५ घटक को एकता बाट बनेको पार्टी नेकपा झापामा ५र ६ घटकको सक्रिय प्रतिनिधित्व हुनु आफैंमा राम्रो हो, यही भित्रबाट हामीले चाँडो झापा एकता भेला गर्नु पर्छ। सबै घटक, सबै धार, सबै इमानदार कम्युनिस्ट शक्तिलाई एक ठाउँमा उभ्याउने साहस आजको आवश्यकता हो।
नेतृत्वः अब कस्तो नेतृत्व चाहिन्छः
आजको समयले भाषणमुखी होइन, जनमुखी नेतृत्व खोजिरहेको छ।
आजको आन्दोलनले आदेश दिने होइन, सुनिदिने नेतृत्व खोजिरहेको छ।
आजको कम्युनिस्ट आन्दोलनले पदमुखी होइन, कर्तव्यमुखी नेतृत्व खोजिरहेको छ।
नेतृत्वको अर्थ केवल माथि बस्नु होइन, अगाडि उभिनु हो।
नेतृत्वको अर्थ आलोचनाबाट भाग्नु होइन, आत्मालोचनालाई संस्कार बनाउनु हो।
नेतृत्वको अर्थ लोकप्रियता होइन, विश्वास आर्जन गर्नु हो।
अब झापामा चाहिने नेतृत्वः
देश, जनता र पार्टीप्रति निस्वार्थ प्रतिबद्ध
मजदुर, किसान र उत्पीडित समुदायको जीवनसँग जोडिएको
आलोचना सुन्न सक्ने र सुधार गर्न सक्ने
गुटभन्दा संगठन ठूलो ठान्ने
आफूभन्दा आन्दोलनलाई अगाडि राख्ने
रूपान्तरण, पुनर्गठन र कम्युनिस्ट संस्कार
आजको पहिलो कार्यभार आत्मालोचनासहित जनतामा फर्किनु हो।
रूपान्तरण भनेको केवल संरचना फेर्नु होइन, सोच र व्यवहार फेर्नु हो।
पुनर्गठन भनेको केवल समिति बनाउनु होइन, भरोसा पुनर्निर्माण गर्नु हो।
कम्युनिस्ट संस्कार पुनः विकास गर्नैपर्छस्
एक कमरेडले अर्को कमरेडको सम्मान गर्ने
फरक मतलाई शत्रु नठान्ने
आलोचना विचारमा सीमित राख्ने, नियतमा होइन
व्यक्तिगत महत्वाकांक्षालाई सामूहिक लक्ष्यमा विलय गर्ने
१५ पालिका, १३१ वडा स् आन्दोलनको नयाँ यात्रा
अब आन्दोलन कागज र बैठकमा सीमित हुनु हुँदैन।
१५ पालिका र १३१ वडामा पुग्नैपर्छ—
मजदुरको पसिना, किसानको पीडा, युवाको बेरोजगारी, महिलाको अपमान, उत्पीडित समुदायको आवाज—यी सबैलाई राजनीतिक एजेन्डा बनाउनु नै कम्युनिस्टको कर्तव्य हो।
माथिका विवाद र प्रश्नहरू केही समय थाती राखेर हामी एउटै निष्कर्षमा पुग्नुपर्छ—हामी मिल्नैपर्छ।
आशाको निष्कर्ष
झापा निराश हुने भूमि होइन।
झापा इतिहास बिर्सने भूमि होइन।
झापा अवसरवादी राजनीतिमा हराउने भूमि होइन।
झापा फेरि पनि क्रान्तिकारीहरूको भूमि बन्न सक्छ—
यदि हामी व्यक्तिलाई होइन, विचारलाई अगाडि राख्छौं भने।
यदि हामी आलोचनालाई तोडफोड होइन, निर्माणको औजार बनाउँछौं भने।
यदि हामी जनतासँगै हिँड्छौं भने, जनतामाथि होइन।
कमरेडहरू,
निराशा होइन—आशा हाम्रो राजनीतिक पहिचान हो।
भाग्नु होइन—लड्नु हाम्रो इतिहास हो।
आउनुहोस्, झापालाई पुनः क्रान्तिकारी चेतनाको केन्द्र बनाऔं।
जनतासँगै, जनताको निम्ति, समाजवादको बाटोमा अघि बढौँ।
लाल सलाम
केन्द्रीय सदस्य झापा ।


















