झापा । 

नेपाली नागरिकको मोबाइल सिम दुरुपयोगका कारण जेल जानेको संख्या बढ्दै गएको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दुतावासले सचेत हुन आग्रह गरेको छ ।

 युएईस्थित नेपाली दूतावासले युएईमा कार्यरत नेपाली नागरिक सम्पर्कविहीन भएको वा थुनामा परेको भन्दै खोजी गरिदिन नेपालमा रहेका सम्बन्धित परिवारबाट दैनिक रूपमा महावाणिज्य दूतावासमा अनुरोध आउने गरेको जनाएको छ । सम्पर्कविहीन व्यक्तिको खोजीका लागि आवश्यक कागजात उपलब्ध नहुने गरेको पाइएकाले कुनै पनि नेपाली नागरिकले रोजगारीका लागि युएई प्रस्थान गर्नुअघि आफ्नो राहदानी, भिसा र श्रम अनुमतिको प्रतिलिपि परिवारलाई सुरक्षित रूपमा राख्न दिन आग्रह गरिएको छ ।

त्यसैगरी, युएई पुगेपछि काम गर्ने कम्पनीको नाम, पूरा ठेगाना, कम्पनीको सम्पर्क व्यक्तिको नाम र सम्पर्क नम्बर, बस्ने ठाउँ (क्याम्प) को पूरा ठेगाना, क्याम्प प्रमुख (क्याम्पबोस) को नाम र सम्पर्क नम्बर तथा इमिरेट्स आइडी बनिसकेपछि त्यसको प्रतिलिपिसमेत परिवारलाई पठाई सुरक्षित रूपमा राख्न आग्रह गरिएको छ ।

यस्तै नेपाली नागरिकको नाममा रहेको युएई मोबाइल सिम वा इमिरेट्स आइडी अरूले प्रयोग गरी फसाएको र यसरी फसेका, मुद्दा खेपिरहेका, जेल तथा जरिवाना सजाय भोगिरहेका व्यक्तिलाई सहयोग गरिदिन सम्बन्धित व्यक्ति तथा परिवारबाट निरन्तर अनुरोध आउने गरेको भन्दै कुनै पनि किसिमको प्रलोभनमा परी आफ्नो इमिरेट्स आइडी जो–कोहीलाई नदिन आग्रह गरिएको छ ।

बैंकबाट पैसा मिलाइदिन्छु, भिसा लगाइदिन्छु, नेपाल पठाइदिन्छु भन्दै अनधिकृत व्यक्तिले नेपाली नागरिकको इमिरेट्स आइडी प्रयोग गरी बैंकबाट ऋण लिएर फसाइदिएको तथा सजिलै पैसा प्राप्त हुने प्रलोभनमा परेका व्यक्तिका मुद्दा अहिले पनि उल्लेख्य संख्यामा रहेको दूतावासले जनाएको छ । युएईको फोन सिमकार्ड इमिरेट्स आइडीसँग जोडिने भएकाले आफ्नो सिमकार्ड अरूलाई दिँदा त्यसको दुरुपयोग गरी आर्थिक ठगी (स्क्याम) मा फसाउने जोखिम रहने भन्दै आफ्नो नामको मोबाइल सिम अरूलाई नदिन तथा अरूको सिम प्रयोग नगर्न आग्रह गरिएको छ ।

कसैले बैंकबाट कल गरेको भन्दै फोनमार्फत बैंक कार्ड नम्बर, ओटीपी नम्बर वा इमिरेट्स आइडी नम्बर मागेमा ठगीको फन्दामा पर्न सकिने भएकाले फोनमार्फत कसैलाई पनि आफ्ना व्यक्तिगत विवरण तथा कार्ड नम्बर नदिन र आफ्नो बैंक खातामा स्रोत नखुलेको रकम जम्मा भएको जानकारी पाउनासाथ सम्बन्धित बैंकमा स्वयं उपस्थित भएर सूचना दिन पनि दूतावासले आग्रह गरेको छ ।

उता, कुवेतले घरेलु कामदार भर्नामा नयाँ प्रतिबन्ध लागू गरेको छ । कुवेतले घरेलु कामदार भर्तीसम्बन्धी नियम कडा बनाउँदै नेपालसहित १० देशबाट मात्र भर्ती गर्न अनुमति दिएको छ । नयाँ नियमअनुसार नेपाल, भारत, फिलिपिन्स, श्रीलंका, इथियोपिया, भियतनाम, दक्षिण अफ्रिका, बेनिन, इरिट्रिया र सेनेगलबाट घरेलु कामदार भर्ती गर्न पाइनेछ भने २७ देशबाट भर्तीमा प्रतिबन्ध लगाइएको छ । सेनेगलका हकमा भने पुरुष कामदार मात्र भर्ती गर्न अनुमति दिइएको छ । कुवेतको आन्तरिक मन्त्रालयले विभिन्न सरकारी निकायहरूको सिफारिसका आधारमा यो निर्णय लागू गरेको हो । नयाँ व्यवस्था दुई दिनअघि अद्यावधिक भई कार्यान्वयनमा आएको बताइएको छ ।