धुलाबारी ।
‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने नारासहित प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले आफ्नो १३ औँ स्थापना दिवसको अवसरमा युवाहरुका लागि एक दिने कृत्रिम बुद्धिमत्ता ९एआई० सम्बन्धी तालिम आज सम्पन्न गरेको छ ।
धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित तालिम मेचीनगर नगरपालिका वडा नं।९ को आर्थिक सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा मेचीनगर–९ का ६० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।
तालिममा अग्रज पत्रकार तथा विषय विज्ञ लीलाराज भट्टराईले एआईको परिचय, यसको प्रयोग, अवसर तथा चुनौतीका विषयमा सहजीकरण गरेका थिए । उनले वर्तमान समयमा कृत्रिम बुद्धिमत्ताको महत्व बढ्दै गएको उल्लेख गर्दै युवाहरुलाई प्रविधिको सही र सिर्जनात्मक प्रयोग गर्न आग्रह गरे ।
केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति संगीता थापाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा मेचीनगर वडा नं। ९ का वडाध्यक्ष कञ्चन तामाङ प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । प्रमुख अतिथि तामाङले प्रविधिमैत्री समाज निर्माणका लागि यस्ता तालिमले युवाहरुको क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वडा सदस्य धनकुमार श्रेष्ठ, सुष्मा कार्की डोली, सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, सामुदायिक वन महासंघ मेचीनगरकी अध्यक्ष जानुका ओली लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी, केन्द्रका सहजकर्ता छत्र पौडेल, हिमादेवी मगर, मानबहादुर कार्की तथा इलाम जिल्लाका राष्ट्रिय स्रोत व्यक्ति चेतराज विष्टको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी युवाहरुले एआईको प्रयोग, डिजिटल सीप विकास तथा भविष्यमा यसले सिर्जना गर्ने अवसरबारे जानकारी प्राप्त गरेका थिए । आयोजकले युवाहरुलाई प्रविधिसँग जोड्दै ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जनाएको छ ।


















