झापा  ।

 सादा पोसाकको प्रहरी हौँ भन्दै सर्वसाधारणलाई धम्क्याएर लुटपाट गर्ने दुई जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।  इलामको माई नगरपालिका–१ सन्दुवाका ३६ वर्षीय तीर्थ गिरीलाई लुटेर फरार भएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।उनीहरुलाई आइतबार दिउँसो १२ बजेको समयमा झापाको मेचीनगर नगरपालिका –६ पिङ्की ठ्याकस्थित सडकमा दुई जना अपरिचित पुरुषले गिरीलाई रोकेका थिए। आफूहरू सादा पोसाकका प्रहरी कर्मचारी भएको बताउँदै उनीहरूले गिरीको साथमा रहेको १ थान मोबाइल, ६०० रुपैयाँ नगद, नागरिकता, स्वास्थ्य बिमाको कागजपत्र र १ थान सुनको फुली जबरजस्ती लुटेर फरार भएका थिए।

घटना लगत्तै पीडित गिरीले दिउँसो १ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराएका थिए। सूचना पाउनासाथ काँकरभिट्टाबाट खटिएको विशेष प्रहरी टोलीले हुलियाका आधारमा लुटेराहरूको खोजी सुरु गरेको थियो। खोजी गर्ने क्रममा प्रहरीले मेचीनगर –६ भानुटोलका ३३ वर्षीय प्रलाद कार्कीको घर कोठामा खानतलासी गरेको थियो। 

कार्कीको सुत्ने कोठा चेकजाँच गर्दा लुकाएर राखिएको अवस्थामा खैरो हिरोइनजस्तो देखिने लसाइलो पदार्थ २ पोका फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको उक्त पदार्थ प्लास्टिक बाहेक १ ग्राम ९१० मिलिग्राम रहेको छ। सोही कोठाबाट पीडित गिरीको लुटिएको नागरिकता र भाँचिएको अवस्थामा १ थान सुनको फुली जस्तो देखिने धातु समेत बरामद भएको थियो । 

प्रहरीले लुटपाट र लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा प्रलाद कार्की र मेचीनगर –७ कञ्चनजङ्घा टोलका २२ वर्षीय विशाल बास्कोटा दुवै जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जना विरुद्ध इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मुलुकी अपराध संहिता २०७४ को डाँका सम्बन्धी कसूर र लागू औषध नियन्त्रण ऐन २०३३ को कसूर अन्तर्गत मुद्दा दर्ता गरेको छ। अनुसन्धानलाई अगाडि बढाउन जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी उनीहरूमाथि विस्तृत छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।