बिर्तामोड । 

झापाको बिर्तामोडमा दैनिक उपभोग्य सामग्रीदेखि रेडिमेड कपडासम्म एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यसहित पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्स सञ्चालनमा आउने भएका छन् । आगामी जेठ ३० गते शनिबार बिर्तामोड–४ शनिश्चरे रोड र बिर्तामोड १ अतिथिसदन नजिकै  दुवै व्यवसायिक प्रतिष्ठानको औपचारिक उद्घाटन गर्न लागेका हुन् । 

सञ्चालक भेषराज दाहालका अनुसार उपभोक्तालाई गुणस्तरीय सामग्री उचित मूल्यमा उपलब्ध गराउने लक्ष्यसहित दुई करोड रुपैयाँभन्दा बढी लगानीमा नयाँ व्यवसाय सञ्चालनमा ल्याउन लागिएको हो । मुक्तिचोकबाट शनिश्चरेतर्फ जाने सडकखण्डमा पीके हब डिपार्टमेन्ट स्टोर र अतिथि सदन नजिकैको पीके कम्प्लेक्समा मन्त्र क्लोथ्स सञ्चालनमा आउनेछ ।

पीके हब डिपार्टमेन्ट स्टोरमा घरायसी तथा दैनिक जीवनमा आवश्यक पर्ने विविध सामग्री एकै स्थानबाट खरिद गर्न सकिने व्यवस्था गरिएको सञ्चालक दाहालले बताए । स्टोरमा भाँडाकुँडा, किचन सामग्री, प्लास्टिकजन्य सामग्री, नवजात शिशुका आवश्यक वस्तु, विद्यालय जाने बालबालिकाका लागि स्कूल ब्याग, पानीका बोतल, खेलकुद सामग्री, बाथरुमसम्बन्धी सामग्री, खेलौना, ब्लक सेट, स्केटिङ तथा स्विमिङ सामग्रीलगायतका सामग्री उपलब्ध गराइने बताइएको छ । 

त्यस्तै, मन्त्र क्लोथ्समा पुरुष, महिला तथा बालबालिकाका लागि आवश्यक रेडिमेड कपडा, अन्तर्वस्त्र, मोजा, पेटी, भेस्ट तथा अन्य फेसनसम्बन्धी सामग्री बिक्री गरिने जनाइएको छ । काठमाडौंमा मुख्य कार्यालय रहेको मन्त्र क्लोथ्स हाल इटहरीमा समेत सफल रूपमा सञ्चालनमा छ। बिर्तामोड शाखा कम्पनीको तेस्रो शाखाका रूपमा विस्तार हुन लागेको हो ।

मन्त्र क्लोथ्सका मिडिया तथा प्रमोशन विभाग प्रमुख सुमित रजकका अनुसार पूर्वी नेपालका उपभोक्ताको बढ्दो मागलाई मध्यनजर गर्दै बिर्तामोडमा शाखा विस्तार गरिएको हो । ‘उपभोक्ताले गुणस्तरीय सामग्री उचित मूल्यमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले व्यवसाय विस्तार गरिएको हो’ उनले भने । उद्घाटनको अवसरमा ग्राहकका लागि विशेष छुट तथा उपहार योजनासमेत ल्याइएको छ । उद्घाटनपछिको पहिलो साताभर सम्पूर्ण सामानमा १० प्रतिशत छुट प्रदान गरिनेछ भने दोस्रो सातामा पाँच प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै, पाँच हजार रुपैयाँ वा सोभन्दा बढीको खरिदमा ग्राहकलाई स्क्र्याच कुपन उपलब्ध गराइनेछ। उक्त कुपनमार्फत १०० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म नगद फिर्ता पाउन सकिने जनाइएको छ। १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्ने ग्राहकलाई भने निश्चित ५०० रुपैयाँ नगद फिर्ता गरिने व्यवस्था मिलाइएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गर्दै विशेष योजना पनि सार्वजनिक गरिएको छ। मन्त्र क्लोथ्स तथा पीके हबको टिकटक आईडी र फेसबुक पेज फलो गरी सामग्री शेयर गर्ने ग्राहकमध्ये एक जना भाग्यशाली विजेतालाई लक्की ड्रमार्फत दुई हजार रुपैयाँ बराबरको निःशुल्क किनमेल कुपन प्रदान गरिने रजकले जानकारी दिए ।

स्टोरमा उपलब्ध अधिकांश सामग्री न्यूनतम २० रुपैयाँदेखि अधिकतम तीन हजार रुपैयाँसम्मको मूल्यमा उपलब्ध हुने जनाइएको छ। निश्चित मूल्य प्रणाली लागू गरिएकाले ग्राहकले मोलमोलाइ नगरी सहज र विश्वसनीय रूपमा किनमेल गर्न सक्ने सञ्चालक पक्षको दाबी छ । 

बिर्तामोड तथा आसपासका क्षेत्रका उपभोक्तालाई परिवारका सम्पूर्ण आवश्यक सामग्री एउटै स्थानबाट खरिद गर्ने सुविधा प्रदान गर्ने लक्ष्यसहित पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्स सञ्चालनमा ल्याइएको जनाइएको छ । उद्घाटन समारोहमा उद्योगी–व्यवसायी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।