बिर्तामोड ।
झापाको बिर्तामोडमा कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव २०८२ हुने भएको छ । ‘सीमापार संस्कृति सम्पदा र पर्यटनको उत्सव’ भन्ने मूल नाराका साथ कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव २०८२ हुने भएको हो ।
आगामी चैत २४ र २५ गते बिर्तामोडमा आयोजना हुने कार्यक्रम पर्यटन कार्यालय काँकडभिट्टाको प्रवर्धनमा हुन लागेको यस उत्सवले नेपाल र भारतको बंगाल क्षेत्रबीच सांस्कृतिक आदान–प्रदान तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
उत्सव आयोजक समितिकी संयोजक इन्दिरा श्रेष्ठले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । उनका अनुसार कोशी प्रदेशलाई बंगालसँग पर्यटन र संस्कृतिका माध्यमबाट जोड्ने प्रयासस्वरूप यस्तो महोत्सव आयोजना गरिएको हो।
पर्यटन कार्यालयका प्रमुख छविलाल खतिवडाले उत्सवमा नेपालका १८ वटा र बंगालका १२ वटा स्टल गरी जग्गमा ३० वटा स्थल रहने बताएका छन् । ती स्टलहरूमा स्थानीय खाद्य सामग्री, हस्तकला, तथा पर्यटनसँग सम्बन्धित सामग्रीहरू प्रदर्शन गरिनेछ।
उत्सवमा टुर तथा ट्राभल व्यवसायी, होटल तथा होमस्टे सञ्चालकहरूको सहभागिता रहनेछ भने उनीहरूको सेवा र प्याकेजहरूको मार्केटिङसमेत गरिनेछ। साथै फोटो तथा चित्रकला प्रदर्शनी, सांस्कृतिक नृत्य तथा विविध प्रस्तुति कार्यक्रमहरू पनि समावेश गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार यस महोत्सवले सीमापार पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
आज (बुधवार) बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन अभियन्ता अर्जुन कार्की, महिला उद्यमी सुश्मा पौडेल, नाट्टा कोशी प्रदेश महासचिव नविन खरेललगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण होमस्टे (घरवास) महासंघ नेपालका महासचिव मन्जिल देवानले गरेका थिए ।


















