- पवन गिरी
हल्दीवारी ।
जलवायु परिवर्तनका बढ्दो असरबारे समुदायलाई सचेत गराउँदै युवालाई वातावरण संरक्षणका अभियानमा सक्रिय बनाउने उद्देश्यले झापाको गौरादहमा ‘क्लाइमेट जस्टिस अवेयरनेसः फ्रम स्ट्रिट टु एक्सन’ अभियान सम्पन्न भएको छ।
दिगो विकास इन्स्टिच्युट र सीजेएआई (CJAI) एलुम्नाई–२०२६ को आयोजनामा साथै सह आयोजकमा Nyca, Leo club of Gauradha, IAAS LC, NTSC, YCSA , TSAN संस्थानहरूको गौरादह बजार क्षेत्रमा बुधबार सचेतनामूलक कार्यक्रम गरिएको हो
अभियानअन्तर्गत फ्ल्यास मोब, सडक नाटक तथा सचेतनामूलक र्यालीमार्फत जलवायु न्याय, वातावरण संरक्षण र दिगो विकाससम्बन्धी सन्देश प्रवाह गरिएको थियो। सडक नाटकमार्फत अनियन्त्रित प्लास्टिक प्रयोग, फोहोर व्यवस्थापनको समस्या, वन विनाश तथा जलवायु परिवर्तनका कारण मानव जीवन, कृषि र जैविक विविधतामा परिरहेको नकारात्मक प्रभावलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा सहभागी युवाहरूले जलवायु परिवर्तन विश्वव्यापी चुनौती भए पनि यसको प्रभाव स्थानीय समुदायले प्रत्यक्ष रूपमा भोगिरहेको उल्लेख गर्दै यसको समाधानका लागि स्थानीय तह, शैक्षिक संस्था, नागरिक समाज र युवाबीच समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए।
र्यालीका सहभागीहरूले वातावरणमैत्री जीवनशैली अपनाउन, प्लास्टिकजन्य फोहोरको प्रयोग न्यूनीकरण गर्न, वृक्षारोपणलाई अभियानका रूपमा अघि बढाउन तथा प्राकृतिक स्रोत–साधनको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने सन्देश दिएका थिए।
आयोजकका अनुसार ‘सडकबाट कार्यमा’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानको उद्देश्य जलवायु न्यायको अवधारणालाई समुदायस्तरसम्म पुर्याउँदै युवालाई वातावरणीय नेतृत्वका लागि प्रेरित गर्नु हो। कार्यक्रमले जलवायु परिवर्तनका चुनौती सामना गर्न जनचेतना अभिवृद्धिसँगै सामूहिक पहल आवश्यक रहेको सन्देश दिएको आयोजकको भनाइ छ। कार्यक्रममा विभिन्न शैक्षिक संस्था, सामाजिक संघसंस्था, युवा तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।


















