• विमल गिरी

नेपाली भाषा साहित्यमा खासगरी आफ्नो पूर्ण परिचय प्राप्त गर्नको लागि आफ्नो सांस्कृतिक पहिचान, भाषा र रीतिथिति अङ्गीकार गरेको हुनु पर्छ भनेर प्रष्टसङ्ग बोल्नु हुने स्वाभिमानी, भाषा साहित्य र कला संस्कृति बिद्को नाम हो डा. सत्य मोहन जोशी । उहाँको योगदान र विशेषता अध्ययन, अनुसन्धान र प्रकाशनमा थुप्रै अध्येताहरु र लेखकहरु लागिरहेका छन् ।

२०१३ सालमा ‘हाम्रो लोक संस्कृति’ मा पहिलो मदन पुरस्कार प्राप्त गर्नु भै अब गाउँ, घर, सभ्यता र संस्कृतिका अलिखित घटना र सन्दर्भहरु प्रकाशमा ल्याउनुमा नै आफ्नो कार्यक्षेत्र ठानी सन्तोषको सासफेर्दै नेपालको इतिहासमा तीन पटकसम्म मदन पुरस्कार प्राप्त गरि आफ्नो नाम रच्न सफल हुने बरिष्ठ साहित्यकार हुनुहुन्छ सत्य मोहन जोशी । 

जीवनप्रतिको सकारात्मक सोचमाथि आफ्नो निडर, स्पष्ट वक्ता र हक्की स्वर बोल्न समर्थ राख्ने नेपाली साहित्यका अमुल्यनिधी हुनुहुन्छ सत्य मोहन जोशी । नेपाली भादगाउँले टोपी, पुरानै शैलीको दौरा सुरुवाल र कोटमा आफ्नो पहिचान देखाउन सफल हुनु भएको सत्य मोहन जोशीको आज भन्दा करिब पाँच बिस पुग्न लाग्नु भएका ललितपुरको बखुबहालमा बी.स. १९७७ साल बैशाख २० गते जन्म भएको हो ।

पिता शंकर राज जोशी र माता राजकुमारी जोशीको पहिलो सन्तानको रुपमा जन्मनु भएको जोशीको पाँचको बर्ष हुँदासम्म पनि बोलि नफुटेर उहाँका माता पिताले बिभिन्न देउदेउताको शरणमा गएपछि विस्तारै बोल्न थाल्नु भएको थियो भन्ने भनाइ छ ।

आफ्नो कलेजका पढाई सकेर थोरै तलबमा अरुकै सहयोगबाट काठमाडौं तथा बिभिन्न ठाउमा काम गर्दै पछि आफ्नो कार्यक्षेत्र अन्तर्गत तनहु जानु भयो । उहाँले भर्खर बिबाह गर्नु भएको थियो र कहिले पनि उहाँ उपत्यका बाहिर नजानु भएकोले पहिलो पटक उहाँलाई उपत्यका बाहिर गएर काम गर्दा शुरु शुरुमा निक्कै गाह्रो, अप्ठेरो र बिरक्त लागेको थियो । नचिनेको ठाउँ, सबै नयाँ अनुहार देख्दा बिरक्त लाग्नु स्वभाविक नै थियो ।  रहँदै बस्दै जाँदा पछि गाउँले भाका, रोदी, दोहरी र बालनमा आफ्नो मन रम्न थाल्यो । बिस्तारै त्यहाँका परिस्थिति टपक्कै टिपेर गाउँका दिदी बहिनीहरुले गाउँने लोकभाकालाई लिपिबद्ध गरेर २००३ सालमा शारदा पत्रिकामा प्रकाशित गर्नु भयो ।

पछि आफुले लेखेका बिभिन्न पान्डुलिपिहरुलाई काँटछाँट गरेर ‘हाम्रो लोक संस्कृति’ नामको पाण्डुलिपि तयार पात्नु भयो र सोही पान्डुलिपिलाई २०१३ सालमा स्थापना भएको मदन पुरस्कारले पहिलो पुरस्कार यसै पाण्डुलिपिलाई दिएर वहाँ नेपालको इतिहासमा मदन पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्तिको रुपमा स्थापित हुनु भयो । 

२०१५ सालमा निर्र्वाचित सरकारको पालामा स्थापना भएको ‘पुरातत्व र संस्कृति बिभाग’को उहाँ पहिलो निर्देशक बन्नु भयो र उहाँले त्यस विभागमा रहनु हँुदा २०१६ सालमा राष्ट्रिय नाचघरको जग्गा एक लाख ३७ हजार रुपैयाँमा खरिद गरेर नाचघरको नामाकरण गरि स्थापना गर्नु भयो । उहाँले त्यस समयमा पाटन पुरातात्विक बगैचा, भक्तपुर कला संग्रहालय, पुरातत्व संग्रहालय तौलिहवाको स्थापना गर्नुभयो भने राजा मानदेवदेखिको राजा महेन्द्रसम्मको नेपाली मुद्राको सफल प्रदर्शनी समेत गर्नुभयो । 

२०१६ सालमा नेपालको पाँचौ शताब्दीदेखि बिसौ शताब्दीसम्मको मुद्राको बिस्तृत विवरण सहितको ‘राष्ट्रिय नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशित गर्नु भयो । सोहि पुस्तकले २०१७ सालको मदन पुरस्कार प्राप्त गर्यो र उहाँले यो दोश्रो पटक मदन पुरस्कार प्राप्त गर्नु भएको थियो । 

२०१७ सालमा वहाँले रत्न पुस्तक भण्डारबाट ‘नेपाली बर्णमाला’ प्रकाशित गर्नुभयो र सो पुस्तक धेरै लोकप्रिय भएर चौथो सस्करणसम्म निकाल्नु परेको थियो । २०१९ सालमा चिनिया सरकारको सहयोगमा चिनिया जनतालाई नेपाली भाषा सिकाउनु पर्ने कार्यक्रमका लागि आबेदन माग भएकोमा उहाँनै छानिनु भै चार बर्षसम्मको लागि चीन प्रस्थान गर्नुभयो । 

नेपाल राजकीय प्रज्ञा प्रतिस्थानको कुलपतिमा केदार मान व्यथित हुनु भएको समयमा उहाँलाई सह–सदस्यमा मनोनित गरिएको थियो । नेपाल राजकीय प्रज्ञा प्रतिस्थानमा आबद्ध भएपछि नेपाली भाषा, साहित्यको बिकासको लागि केहि ठोस कार्य गर्ने जमर्को गर्नुभयो । त्यसैको फलस्वरूप नेपाली भाषाको उद्गम स्थल कर्णाली अञ्चलको सिंजा उपत्यका गएर त्यहाँको भाषिक, सांस्कृतिक, भौगोलिक, सामाजिक र जातीय अध्ययन गरि कर्णाली सिंजा उपत्यकामा नेपाली भाषाको उत्खनन सम्बन्धि बिस्तृत अध्ययन गर्न एउटा टोलिको गठन गर्नुभयो । सो टोलीमा स्थिर जंगबहादुर सिंह, बिहारी कृष्ण श्रेष्ठ, चुडामणि बन्धु र प्रदिप रिमाल थिए । थुप्रै अथक परिश्रम र मिहिनेतले त्यस टोलीले पाँच खण्डको एक ग्रन्थ तयार पारेर सो ग्रन्थलाई ‘कर्णाली लोक संस्कृति’ नामाकरण गरियो । 

सोही ग्रन्थले पनि २०२८ सालको मदन पुरस्कार प्राप्त गर्न सफल भएको थियो । यो पुरस्कार समेत गरि उहाँ तेस्रो पटक मदन पुरस्कारबाट पुरस्कृत हुनुभयो । 

सुर्य विक्रम ज्ञवाली २०३० सालमा कुलपति भएपछि उहाँ प्रतिष्ठानको सदस्य सचिबमा मनोनित हुनुभए लगत्तै नेपाली नाटकको विकास गर्नको लागि फर्केर हेर्दा, सपना ब्युझंछ, जब घाम लाग्छको सफल नाटक मञ्चन मात्र गर्नु भएन दार्जीलिङ्गको चर्चित नाटक मनबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’ जस्ता कर्णप्रिय नाटकहरु जनमानसमा प्रस्तुत गर्नुभयो र बिस्तारै नाटकको बिकासको साथ–साथै धेरै आर्थिकलाभ पनि प्रतिष्ठानले प्राप्त गर्यो । 

 भद्र, शालीन एवं सरल जीवनका प्रतीक आदरणीय जोशीले २०३६ सालमा पून भाषा प्राद्यापनको लागि चिन २ वर्षका लागि प्रस्तान गर्नुभयो र सोही समयमा नेपालका प्रख्यात कलाकार अरनिकोको बारेमा बिस्तृत अध्ययन गर्नु भयो र फलस्वरूप उहाँले ‘कलाकार अरनिको’ नामक अनुसन्धानमुलक कृति नेपाली भाषा र नेपाल भाषामासहित प्रकाशित गर्नुभयो । उहाँको नेपाल भाषामा लेखिएको अर्को पुस्तक ‘जय प्रकाश’ ले नेपाल भाषाको प्रसिद्ध पुरस्कार ‘श्रेष्ठ सिरपा’ पुरस्कार प्राप्त गर्नुभएको थियो । 

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले चिनबाट नेपाल २०३८ सालमा फर्किएपछि उहाँले त्रिभुबन बिश्व बिद्यालय केन्द्रिय विभागमा नेपाल भाषाको प्राध्यापन गर्न थाल्नु भयो । यो उमेरमा पनि उहाँ ऐले बिभिन्न संघ सस्थामा आबद्ध हुनुभयो । जस्तै नेपाल भाषा प्रतिस्थान, किर्तिपुरको अध्यक्ष, नेपाल म्युजिक सेन्टर गौशाला र नेपाल आर्ट काउन्सिलको पनि अध्यक्ष हुनुहुन्थ्यो । उहाँको अमुल्य सिर्जनाहरुमा बाघ भैरब, मृत्यु एक प्रश्न, सिपाही र रैती, दैलाको बत्ती, गुलाब र गुराँस, पुरातत्व एक रोचक कथा, नेपाली लोक गीत एक अध्ययन, नेपाली धातुमूर्ति बिकास क्रम, नेपाली चाड पर्बजस्ता अनेकौ पुस्तकहरु प्रकाशित छन् । 

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरूप शताब्दी पुरुष सत्यमोहन जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । उनले तीन पटकसम्म मदन पुरस्कार जित्ज सफल भएका जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०,नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।

  • स्मरणका लागि

वाङ्मय शताब्दी पुरूष डा. सत्यमोहन जोशी र उहाँकी पत्नी राधादेवी जोशीले २०७७ साल माघ ३० गते नइ प्रकाशनद्वारा आयोजित ‘शरीर दान घोषणा सभा’ मार्फत चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आ–आफ्नो शरीर दानको घोषणा गर्नुभएको थियो । 

राष्ट्रका महान इतिहास एवं संस्कृतिविद आदरणीय व्यक्तित्व सत्यमोहनज्यूपय   १६ अक्टोबर २०२२ का दिन १०३ वर्षको उमेरमा निधन भएको थियो ।  

बिर्तामोड–२, चारपाने झापा, हाल बेल्जियम ।

 लेखक गिरी लेखक तथा साहित्यकार हुनुहुन्छ ।