पत्रकारिता राजनीति साहित्य र प्राध्यापनलाई सन्तुलनमा राखेर सँगसँगै अघि बढाउन सक्ने नेपालको वामपन्थी आन्दोलनका चम्किला तारा हुन्। देवकुमार आचार्य अर्थात् डी कौडिन्य।
नेपालको राजनीतिक इतिहासमा युग युगसम्म अम्मर रहिरहने महान सहिद हुन् डी कौडिन्य। प्रगतिशील साहित्य क्षेत्रका सिद्धहस्त कलमकर्मीका रूपमा परिचित बहुआयामिक व्यक्तित्वका धनी डी कौडिन्य जनपक्षीय पत्रकार मार्क्सवादी चिन्तक र कुशल प्राध्यापक हुनुहुन्थ्यो।

डी कौडिन्य आम नागरिकको हृदयमा बलिदान र समर्पणको बिम्बको रुपमा रहनुभएको छ। उहाँ कम्युनिस्ट पार्टीले गरिब निमुखा जनतालाई शोषण अन्याय र दमनबाट मुक्त गर्न सक्नुपर्छ भन्नुहुन्थ्यो। शासकहरूको अन्याय र अत्याचारका विरुद्ध नेपाली नागरिकले गरेका तमाम संघर्ष र आन्दोलनहरूमा झापाले अग्रपंक्तिमा रहेर बलिदानी गर्दै आएको छ। २०२८ सालको झापा विद्रोह होस् वा तत्कालीन नेकपा माओवादीले सुरु गरेको १० वर्षे महान् जनयुद्ध झापाले ती आन्दोलनहरूमा होनाहार योद्धाहरू गुमायो। राज्य सत्ता परिवर्तनका लागि कम्युनिस्ट आन्दोलनमा लामबद्ध भएका योद्धाहरू राज्यसत्ताको कोपभाजनमा परे। महान जनयुद्धको समयमा देवकुमार आचार्यलाई पनि झापालीले गुमाउनुपर्यो। आजकै दिन अर्थात् २०५९ साल साउन ७ गते तत्कालीन राज्यसत्ताले गिरफ्तार गरी अन्तर्राष्ट्रिय युद्ध कानुनको समेत सर्वथा उल्लङ्घन गर्दै उहाँको हत्या गरेको थियो।
देव कुमार आचार्यको जन्म २०१९ साल असोज १० गते भारत सिक्किमको पेलिङमा बुबा चन्द्रबहादुर र आमा विष्णुमाया आचार्यको कोखबाट भएको थियो। उहाँका सात दाजुभाई र तीनजना दिदीबहिनी हुनुहुन्छ। चार वर्षको हुँदा आमाको निधन भएपछि उहाँको बाल्यकाल निकै कष्टपूर्ण रहेको थियो। २०२६ सालमा जनता निमावी हाल उच्च मावि झापाको खुदुनाबारीबाट उहाँको औपचारिक अध्ययन सुरु भएको थियो।
२०३६ सालमा उहाँले एसएलसी उत्तीर्ण गर्नुभएको थियो। महेन्द्ररत्न क्याम्पस इलाम हात्तीसार क्याम्पस धरान मेची बहुमुखी क्याम्पस भद्रपुर त्रिभुवन विश्वविद्यालय कीर्तिपुर लगायतका क्याम्पसहरूमा उहाँले अध्ययन गर्नुभयो। इलाममा अध्ययन गर्दा राजकाज मुद्दामा उहाँ १८ महिना जेल पर्नुभयो। २०४७ साल फागुन १८ गते झापाको कन्काई माईमा गोलधाप निवासी यमुना खरेलसँग उहाँको जनवादी विवाह भएको थियो। परिवारमा उहाँका दुई छोरी तृष्णा र तृप्ति एक छोरा देवराज हुनुहुन्छ। डी कौडिन्य ले जनादेश र जनदिशा साप्ताहिकमा लामो समय संवाददाताका रुपमा काम गर्नुभयो। दृष्टि छलफल प्रकाश जन आवाज महिमा ज्वाला लगायतका साप्ताहिक पत्रिकामा पनि विभिन्न समयमा उहाँले समाचार र लेख लेखेको पाइन्छ। प्रगतिशील साहित्यकार समेत रहनुभएका उहाँले थुप्रै पुरस्कार पनि पाउनुभएको थियो। कृष्णसेन इच्छुक साहित्य पुरस्कारबाट समेत सम्मानित हुनुभएका उहाँ लेख्ने कुरामा सबैलाई प्रेरित गर्नुहुन्थ्यो।
बाल्यकालदेखि नै इमान्दार मिजासिलो र शालिन उहाँले जीवन संघर्षको भोगाई र अन्याय अत्याचार विरुद्धको लडाई आफैबाट सुरु गरेको पाइन्छ। मुलुकको समस्याको मूलकारण राजनीति भएको निष्कर्ष सहित उहाँ वर्गीय विभेद अन्त्य गर्दै जनताको सत्ता स्थापना गर्ने उद्देश्यले राजनीतिमा होमिनुभएको थियो। २०३६ सालमा तत्कालीन नेकपा मालेको विद्यार्थी संगठनमा आबद्ध भएर भूमिगत राजनीति गर्दागर्दै २०४२ सालमा उहाँ जेल पर्नुभयो। जेलबाट छुटेपछि माले हुँदै एमालेको राजनीतिमा सक्रिय हुनुभयो।
२०५२ सालबाट सुरु भएको जनयुद्धको प्रभाव उहाँमा सुरुदेखि नै परेको थियो। २०५४ सालबाट माओवादीको विभिन्न विभागमा बसेर काम गर्दै २०५८ सालदेखि पूर्णकालीन बन्नुभयो। झापाली कम्युनिस्ट आन्दोलनमा उहाँको महत्वपूर्ण योगदान छ। समग्रमा डी कौडिन्य जनपक्षीय पत्रकार स्रष्टा स्तम्भकार विचारक कुशल संगठक र सर्वहारा वर्गको कुशल बौद्धिक नेतृत्वकर्ता हुनुहुन्थ्यो। माओवादी विचारक भएकै आधारमा झापाको बुधबारेबाट उहाँलाई गिरफ्तार गरी तत्कालीन शाही नेपाली सेनाको चाराली ब्यारेक मा लगेर राज्य सत्ताले २०५९ साउन ७ गते उहाँको निर्ममतापूर्वक हत्या गर्यो।
यद्यपि आज पनि डी कौडिन्य को वैचारिक क्रान्तिकारिता हामीमाझ जीवन्त छ। उहाँले आफ्नो जीवन नेपाली नागरिक र यही समाजका खातिर उत्सर्ग गर्नुभयो। नेपाल र नेपालीको उन्नत भविष्य उहाँको अभीष्ट थियो। देश र देशवासीप्रति उहाँको त्याग तपस्या र समर्पणलाई चिर स्मरणीय बनाउने हेतुले तत्कालीन क्रान्तिकारी पत्रकार सङ्घ झापाले २०६६ सालमा डी कौडिन्य पत्रकारिता पुरस्कार स्थापना गरी सोही वर्षबाट वितरण गर्न थालेको थियो। २०७३ सालदेखि भने क्रान्तिकारी पत्रकार संघकै विरासतलाई कायम राख्दै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले यो पुरस्कार प्रदान गर्दै आएको छ। ५ हजार रुपैयाँबाट थालनी गरिएको यो पुरस्कार ११ हजार २१ हजार कायम गर्दै गत वर्षबाट पुरस्कारको राशि ४२ हजार रुपैयाँ पुर्याइएको छ ।