बिर्तामोड ।
लोकतन्त्र दिवसको अवसर पारेर झापा बिर्तामोडको मेची भद्रपुर प्रकाशन प्रशारण प्रालिद्धारा सञ्चालित रेडियो भिजनले नागरिक अधिकार र राज्यको सीमा बिषयक कार्यक्रम आयोजना गरेको छ । रेडियो भिजिनले आज (शुक्रवार) बिर्तामोडमा पत्रकार, बिद्यार्थी संगठनका नेता, कर्मचारीका नेता र स्थानीय तहका प्रमुखसँग उद्बोधन कार्यक्रम गरेको हो ।
स्थापनाकालदेखि नै कोशी प्रदेशका जनसमुदायको आवाजलाई प्रतिनिधित्व गर्दै सामाजिक र आर्थिक चेतना विकासमा समर्पित रहँदै आएको रेडियोले सोही अवसर पारेर टेवल क्यालेण्डरसमेत सार्वजनिक गरेको छ ।
मेची भद्रपुर प्रकाशन प्रशारण प्रालिका सदस्य माधव बिद्रोहीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाई, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, अनेरास्ववियू कोशी प्रदेश अध्यक्ष नारायण पोखरेल, अनेरास्ववियू (क्रान्किारी) का कोशी प्रदेश सचिव राजन चापागाँई, नेपाल बिद्यार्थी संघ (नेविसंघ) झापा अध्यक्ष संजय निरौला, नेपाल निजामति संगठनका केन्द्रिय सदस्य वशिष्ठ अधिकारीलगायतले आ–आफ्नो भनाई राखेका थिए ।
उनीहरुले बर्तमान समयमा राज्य पक्षबाट नागरिकका हकअधिकारमाथि भएका दमन तत्काल बन्द गर्नुपर्ने बताएका थिए । बत्ताहरुले नागरिक, बिद्यार्थी, कर्मचारीका हकअधिकारका लागि स्थापना भएका संघसंगठन खारेज गर्नु राज्यको दम्भ भएकाले त्यस्ता निर्णय तत्काल खारेज गर्न आग्रहसमेत गरे ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सरकारी बिज्ञापन सरकारी मिडियालाई मात्र दिनु पर्ने बाध्यताले सरकार तानाशाही भएको बताउँदै स्थानीय मिडियालाई पनि संरक्षण गर्नुपर्ने बताए । टेण्डरका सूचना सरकारी मिडियोलाई दिनु पर्ने भनेर राज्यले गरेको सर्कुलरलाई आधार बनाएर केही स्थानीय तहले स्थानीय मिडियालाई समेत दिन नमिल्ने भास्य निर्माण गरेकोप्रति आपत्ति जनाए ।
स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा रेडियो भिजनका सञ्चालक सुव्रत न्यौपानेले पारेको कार्यक्रमको सहजीकरण रेडियो भिजनका प्रवन्ध निर्देशक गणेश पोखरेलले पारेका थिए ।


















