बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाले नगर भित्र रहेका पर्यटन क्षेत्रको विकासमा जोड दिएको छ । नगरले आगामी आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा पर्यटनलाई स्थानीय जात्रा, संस्कृति र सम्पदासँग जोडर नगरवासीको सहकार्यमा विकास गर्ने जनाएको छ ।
नगरले संघ र प्रदेश सरकारको सहयोगमा शहिद नेत्र पार्क निर्माण रामचोकमा रहेको सामुदायिक वनलाई चिल्ड्रेन पार्क र बोटानिकल गार्डेनको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
विराटपोखरी पौराणिक तथा धार्मिक महत्वलाई उजागर गर्दै राखी उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा प्रचारप्रसार गरिने, अन्य सार्वजनिक महत्वका पोखरीहरुको पहिचान गरि संरक्षण र सम्वद्र्धन गरिनेछ । विर्तामोड–६ मा रहेको हरीयाली सामुदायिक बनलाई सामुदायिक पार्कको रुपमा विकास गरी ब्यापक प्रचारप्रसार गरी आन्तरिक तथा वाह्य पर्यटकहरु भित्र्याइनेछ ।
यसैगरी बिर्तामोड–२ मारहेको साङ्गवेद संस्कृत विद्यालय तथा विवेकाश्रमलाई धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गरिने, धिमालगढ, बालाजी मन्दिर, विराट भरत विश्रान्ती, गरामनी शक्ति पीठ, कृष्ण प्रणामी मन्दिर, हरिहर आश्रम, बुद्धचक गुम्बा, धिमाल बस्ती, साकेला थान, चोलुङ पार्क मस्जिद चर्च ग्रामथानहरुको धार्मिक पर्यटकीय स्थल, सदु पोखरी, मधु पोखरी, तेलगानी पोखरी लगायत सार्वजनिक पोखरी, धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धनमा तिनै तहका सरकार र नीजि क्षेत्रको सहभागिता बृद्धि गरिने नगरले जनाएको छ ।
त्यस्तै बिर्तामोड नगर भित्र रहेका करिव १०० बर्ष पुराना ऐतिहासिक, पुरातात्विक र रैथाने परम्परागत सीप र प्रविधिको खोजीनीति गरि संरक्षण र सम्वद्र्धन गरिने, नगर भित्र रहेका धार्मिक, सांस्कृतिक, पुरातात्विक क्षेत्रहरु तथा विभिन्न पार्क पोखरीहरुको अवलोकन गर्न पर्यटकीय रुट पहिचान गरि प्रवद्र्धन गरिने,
स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न ‘मेक इन मेड इन’ बिर्तामोडको अभियान सञ्चालन लगायतका नीति तथा कार्यक्रम आर्थिक बर्ष २०८२/०८३ मा नगरले अघि सारेको छ ।