- विनोद सापकोटा
झापा ।
जीवनमा संघर्ष र परिश्रमले सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण हुन् शिवसताक्षी नगरपालिका–८ झिलझिले बजारका योगनिधि बास्तोला । एक समय मजदुरी र ठेला चलाएर जीविका चलाउने बास्तोला अहिले सफल होटल व्यवसायीका रूपमा स्थापित भएका छन् ।
बास्तोला पहिले ठेला चलाएर आफ्नो परिवारको गुजारा गर्थे । हाते ट्याक्टर पनि चलाए । त्यसैको आम्दानीले परिवारको गर्जो चलाउन चाहान्थे । त्यसबाट पनि पर्याप्त आम्दानी नभएपछि उनले भारतको विभिन्न स्थानमा दूध बेच्ने काम गरे । दैनिक कष्टकर र अस्थिर आयस्रोतका कारण उनले नयाँ विकल्पको खोजी गर्न थाले ।
स्थानीय बजारमा खाजाको माग बढ्दै गएको देखेर बास्तोलाले सानो होटल सञ्चालन गर्ने निर्णय गरे । सुरुमा चिया बेचेर व्यवसाय थालेका उनले ग्राहकहरूको मागअनुसार खाजाका परिकारहरू थप्दै गए । आफ्नो मेहनत, इमानदारी र उत्कृष्ट सेवाका कारण उनको झिलझिलेमा ब्राण्ड नै बास्तोला होटल बन्यो ।
तीन दशकको निरन्तर परिश्रमपछि, बास्तोलाको होटल अहिले स्थानीय ब्रान्डका रूपमा स्थापित भएको छ । यहाँ सुक्का रोटी, सिङ्गडा, तेलपुरी, मम, चाउमिन, निम्की, चार्ट, छोला लगायतका परिकारहरू पाइन्छन् । होटलले पाँच जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ भने अप्रत्यक्ष रूपमा अन्य धेरैलाई लाभान्वित गरेको छ । होटल संचालक बास्तोला भन्छन्, ‘मेरो व्यवसाय देखेर मेरा आफन्त, छरछिमेक, नातागोता र इष्टमित्र पनि खुसी छन् ।’
योगनिधि बास्तोलाको जीवनकथा कठिन परिश्रम, समर्पण र दृढ इच्छाशक्तिले सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण हो । उनका अनुभवहरूले अन्य व्यक्तिहरूलाई पनि उद्यमशीलताको मार्गमा अघि बढ्न हौसला प्रदान गरेको छ ।
शिवसताक्षी नगरपालिका–८ झिलझिले बजारमा रहेको बास्तोला होटल स्थानीय उपभोक्तामाझ निकै चर्चित छ । यहाँ विशेष गरी सुक्का रोटी, चिया र अन्य खाजाका परिकारहरू लोकप्रिय छन् । सर्वसाधरण उपभोक्ताले रुचाएर खान्छन् । ३० वर्षदेखि निरन्तर सञ्चालनमा रहेको यो होटल अहिले स्थानीय ब्रान्डनै बनिसकेको छ ।
झिलझिले, दुधे, धरमपुर, डुडाबारी, माइधार र शिवगञ्जका व्यवसायी, कर्मचारी, विद्यार्थी तथा सर्वसाधारण यो होटलका मुख्य ग्राहक हुन् । बिहानको खाजा खान र चिया पिउन आउनेहरूका लागि झिलझिलेको बास्तोला होटल पहिलो रोजाइ बनेको छ ।
बास्तोला होटलको मुख्य विशेषता यहाँ बनाइने सुक्का रोटी हो । आँटालाई हल्का पानीमा भिजाएर मुछेपछि पातलो रोटी बनाइन्छ । जसलाई तातो तावामा कुनै तेल वा घ्यू प्रयोग नगरी सुख्खा रूपमा पकाइन्छ । स्वस्थकर र हल्का भएकाले धेरै ग्राहकहरूले बिहानको नास्तामा यसलाई प्राथमिकता दिने गरेका छन् । बास्तोला होटलका संचालक योगनिधि बास्तोलाका अनुसार रोटी संगै ग्राहकले सब्जी पनि पाउने छन् । उनका अनुसार कतिपय ग्राहकले रोटिमा जेरि बेरेर खानेगरेका छन् ।
सुक्का रोटीका साथै सिङ्गडा, तेलपुरी, मम, चाउमिन, निम्की, चार्ट, छोला जस्ता विभिन्न परिकारहरू पनि यहाँ तयार गरिन्छन् । यहाँ बनाइने खाजाहरू स्वादिष्ट र सफा मात्र नभई, किफायती पनि हुने गरेको स्वयम् ग्राहक बताउछन् ।
बास्तोला होटलको सुरुवात सानो चिया पसलका रूपमा भएको थियो । तर समयसँगै व्यवसाय बढ्दै गयो । स्वादिलो खाजा, सफा वातावरण र उत्कृष्ट सेवाका कारण होटल लोकप्रिय बन्दै गयो । अहिले होटलमा पाँच जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा धेरै मानिसहरू लाभान्वित भएका छन् ।
होटल सञ्चालक बास्तोलाका अनुसार सानो लगानीबाट सुरु गरिएको यो व्यवसाय अहिले महिनाको लाखौं रुपैयाँ आम्दानी गर्ने अवस्थामा पुगेको छ । बिहानदेखि बेलुकासम्म ७ जनाले खाना र खाजाका लागि सेवा दिन्छन्। ग्राहकहरूको अत्यधिक भिड हुने भएकाले अर्डर अनुसारको खाना बनाइने गरिन्छ ।
बास्तोला होटल सताक्षीधाम गएर फर्कने तिर्थ यात्रुहरूका लागि प्रमुख गन्तव्य बनेको छ । धेरै तीर्थयात्रीहरूले यहाँ आएर खाजा खान्छन् । बेलबारीबाट सताक्षीधाम दर्सन गर्न आएकी अनुजा तिवारी भन्छिन्,‘ यो होटलको चिया र नास्ता स्वादिष्ट लाग्यो । चिया नखाए टाउको दुख्ने मेरो बानी यहाँको चिया औषधी नै बन्यो ।’ ‘होटलको चिया स्वादिलो मात्र नभई विशेष स्वादको भएकाले धेरै ग्राहकहरू को यहाँ भिड लाग्ने रहेछ,’ उनले भनिन् ।
स्थानीयस्तरमा मात्र नभई बाहिरी जिल्लाबाट एक पटक बास्तोला होटल आएका व्यक्तिहरूका लागि पनि यो होटल पहिलो रोजाइ बनेको छ । स्वादिष्ट खाजाका परिकार, राम्रो सेवा, उचित मूल्य र स्वच्छ वातावरणका कारण यो होटल झिलझिले बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।
दमक, विर्तामोड लगायतका बजारका तुलनामा झिलझिले सानो बजार हो । ग्रामीण बजारहरूमा सञ्चालित होटलहरूले स्थानीय अर्थतन्त्र, पर्यटन, धर्म, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका गरिरहेको छिमेकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन मैनालीले बताए ।
नेपालमा बेरोजगारी र सीमित रोजगारी अवसरका कारण लाखौं युवा वैदेशिक रोजगारीतर्फ आकर्षित भएका छन् । यसले देशभित्र श्रमशक्ति अभाव र सामाजिक समस्याहरू निम्त्याएको छ । तर, गाउँघरका होटलहरूले स्थानीय स्तरमै रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई केही हदसम्म नियन्त्रण गर्न मद्दत पु¥याएको शिवसताक्षी नगरका रोजगार शाखाका प्रमुख विदुर तिम्सीनाले बताए । यस्ता होटलहरूले स्थानीय उत्पादन र सेवाहरूको खपत बढाई स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने उनले बताएका छन् । उनले भने, यस्ता होटल र रोजगार दातालाई सरकारले सुविधा प्रदान गरे थप रोजगारदाताको उदय हुने थियो ।’
नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र धार्मिक स्थलहरूले पर्यटनको अपार सम्भावना बोकेको छ । ग्रामीण क्षेत्रमा सञ्चालित होटलहरूले स्थानीय पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छन् । यी होटलहरूले पर्यटकहरूलाई स्थानीय परिकार, संस्कृति र परम्परासँग परिचित गराउँछन् । जसले पर्यटन अनुभवलाई समृद्ध बनाउँछ ।