बिर्तामोड ।
होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ । आन्तरिक पर्यटन विकासको लागि व्यावसायिक सहकार्य र पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य लिएर यस बर्षपनि अभियान सञ्चालन गरेको हो । देशमा १० वर्षे द्वन्द्र चल्दै गर्दा सुरु गरिएको अभियानको प्रभाव सकारात्मक पर्दै गएकोले आन्तरिक पर्यटन नै विगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप अभियानलाई निरन्तरता दिएको हो ।
गण्डकी प्रदेश–नेपाल पर्यटन बोर्डको मुख्य प्रबद्र्धनमा गत फागुन १८ देखि २२ गते सम्म पूर्वी नेपालका जनकपुर, विर्तामोड, इटहरी, बर्दिबास र हेटौंडा जस्ता शहर समेटेर अभियान सञ्चालन गरिएको बिर्तामोडमा आज (मंगलबार) आयोजित कार्यक्रममा जानकारी दिइएको हो ।
अभियानको उदेश्य यस क्षेत्रका पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पूर्व ल्याउने रहेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनले २०८० चैत ४ गते पोखरा औपचारिक रुपमा पर्यटनको राजधानी घोषणा भएको र गत माघ महिनामा चिनिया पक्षसँगको सहकार्यमा घोषित नेपाल भ्रमण वर्ष २०२५ हाल जारी रहेकोअध्यक्ष सुवेदीले बताए ।
पोखराको होटल क्षेत्रमा पाँच खर्ब रुपैयाँ हाराहारीको लगानी रहेको, त्यस क्षेत्रका एक हजार दुई सय होटलमा ४०० हजार विस्तारा रहेको र यो क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको संघको आंकलन छ । आन्तरिक पर्यटन प्रबद्र्धनकै लागि संघले फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, खाना महोत्सत्व्र र खेलकूदका कार्यक्रम समेत गर्दै आएको छ ।
यसैगरी बाह्य पर्यटन प्रबद्र्धनका लागि भारतीय शहरहरुमा पोखरा अभियान सञ्चालन गर्ने गरिएको बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने विभिन्न ट्राभल मार्टहरुमा समेत संघले सहभागिता जनाउँदै आएको छ । पोखरामा बन्जी जम्पिङ, जीप लाइनिङ, विभिन्न मठमन्दिरहरुमा सन्ध्याकालिन आरती, केबलकार, प्याराग्लाइडिङ, अल्ट्रालाइट, क्यानोनिङ लगायत दर्जनौं पर्यटकीय सेवा उपलब्ध रहेको जानकारी गराउँदै पोखरा नेचर, कल्चर र एड्भेञ्चर सबै हिसावले उपयुक्त पर्यटकीय गन्तव्य भएको अभियानको टोलीले जानकारी दिएको छ ।
नेपाली कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनको मुख्य उद्धेश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर संघले आगामी चैत ३० देखि वैशाख १ गतेसम्म फेवा तालको किनार लेकसाइडमा २० औं फेवा नव वर्ष महोत्सव २०८२ समेत आयोजना गर्ने अध्यक्ष सुवेदीले जानकारी दिए ।
संघका अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यवहाक प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संघका उपाध्यक्ष गणेशराज पहारीले गरेको कार्यक्रममा प्रमुख अतिथि संग्रौला, ब्यवसायी भिष्मराज खरेल, होटल ब्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, कोशी भ्रमण बर्ष २०८२ का सह–संयोजक भवेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, बन्दीपुर केवलकार एण्ड टुरिज्यमका अध्यक्ष किरण पोखरेललगायतले आ–आफ्ना भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन संघकी सचिव पार्वता पाण्डेले गरेकी थिइन् । कार्यक्रममा होटल ब्यवसायी, पर्यटन ब्यवसायी, ब्यवसायी, झापाका पत्रकारहरुको उपस्थिति रहेको थियो ।