बिर्तामोड ।
केवलकार खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका बन्दकर्तालाई रिहाई गरिएको छ । गत माघ २० र २१ गतेको आन्दोलनमा पक्राउ परेका आन्दोलनकारीलाई ईलाका प्रहरी कार्यालय दमकले आज (बुधवार) रिहाई गरेको हो । रिहाई गरिएका उनीहरुलाई बिभिन्न पार्टी र संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले स्वागत तथा सम्मान गरेका छन् ।
उनीहरुलाई संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रिय अध्यक्ष कुमार लिङ्देन, किरात याक्थुङ् चुम्लुलुङ् झापा जिल्ला अध्यक्ष शेशेहाङ्ग फ्याक लिम्वु, किरात याक्थुङ् चुम्लुलुङ् दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ्ग, प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिका केन्द्रिय अध्यक्ष डकेन्द्र सिंह थेगिम, प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिका झापा जिल्ला संयोजक एवं आदिवासी जनजाति महासंघका झापा जिल्ला अध्यक्ष पाण्डबलाल चौधरीलगायत ५०÷६० जनाको समुहले अविर र खदा लगाएर स्वागत तथा सम्मान गरेका हुन् ।
उनीहरुले ईलाका प्रहरी कार्यालय अगाडी विभिन्न नाराहरू लगाएर उनीहरुलाई स्वागत सम्मान गरेका छन् । मुक्कुमलुङ गोलीकाण्ड दोषीलाई कारबाही गर, केवल कार बन्द गर, केवलकार निर्माण समूह मुर्दाबाद, केवलकार चाहिदैन, गोलि हान्न पाइन्दैन, गोलीकाण्डको न्यायिक छानबिन गर, सिडिओ र मेयरलाई कारबाही गर, गोलि हान्ने ओली सरकार मुर्दाबाद, केवलकार खलनायक चन्द्र ढकाल मुर्दाबाद , मुक्कुमलुङमा सशस्त्र क्याम्प हटाउनै पर्छ, कोशी नाम खारेज गर, लिम्बुवान भोलेन्टियर्स जिन्दाबाद, मुक्कुमलुङ आन्दोलन जारी छ, लिम्बुवान भोलेन्टियर्सपछि हट्दैन, लिम्बुवान शहिदहरु अमर रहुनलगायका नारा लगाएका थिए ।
नेता कुमार लिङ्देनले आन्दोलनलाई साथ दिने प्रदेशका १४ जिल्लाका नेपाली कांगसका सभापतिहरू, राष्ट्रिय प्रजातन्त्र पार्टी, दमक नगरपालिकाका मेयर राम कुमार थापालगायत विभिन्न संघ संस्थाहरूलाई धेरै धेरै धन्यवाद दिएका छन् । उनले आन्दोलन नसकिएको बताउँदै अव २७ गतेको वार्तापछि मात्र टुङ्गो लाग्न बताए । ‘पाथिभरा मुकुलमलुङ्ग जस्तो छ त्यस्तै प्राकृतिक हुनु पर्ने भन्ने मात्र हो’ उनले भने ‘यो आन्दोलन हाम्रो मात्रै हैन सम्पूर्ण हिन्दुहरूको पनि हो ।’
सवै हिन्दु धर्म मान्ने नेपालीहरूले साथ दिनु पर्ने उनको धारण थियो । उनले २७ गतेको वार्तामा पनि आफ्ना माग पुरा नभए र केवलकार वनाउने टोलि फिर्ता नभए अझ सशक्त ढंगले आन्दोल बताएका छन् ।