झापा ।
बडादशैंको टीका लगाउने क्रम आजपनि जारी रहेको छ । बडादशैं अन्तरगतको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ । विजयादशमीका दिन मान्यजनबाट टीका लगाउन नभ्याएका वा छुटेकाहरूले आजपनि आफन्तकहाँ पुगेर टीका र आशीर्वाद लिइरहेका छन् ।
नेपाली परम्पराअनुसार विजयादशमीका दिनबाट सुरु भएको टीका र जमरा लगाउने यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म चल्ने गर्दछ । लामो समयदेखि भेटघाट नभएका आफन्त तथा परिवारजनसँग भेट हुने र पुनर्मिलन हुने अवसरका रूपमा समेत दशैंलाई लिइने गरिन्छ । यस पर्वले आपसी सद्भाव, विश्वास र भाइचारालाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ ।
मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूको आवागमनका कारण सडक तथा सहर बजारमा सर्वसाधारणको चहलपहल बढेको छ । यसैबिच, दशैं मनाउनका लागि सहरबाट बाहिरिएकाहरु पुनः आ–आफ्नो गन्तव्यतर्फ फर्कने क्रम पनि बढेको छ ।
प्रतिक्रिया 0