बिर्तामोड ।
झापा क्षेत्र नं.४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमाले नेता एलपी साँवा लिम्बूले चिया क्षेत्रका समस्या सम्वोधनका लागि आवश्यक समन्वय एवं पहल गर्ने बताएका छन् ।
प्रादेशिक चिया समन्वय समितिले शुक्रबार सुरुङ्गामा सांसद साँवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । त्यसक्रममा सांसद साँवाले चिया क्षेत्रका समस्याबारे आफ्नो ध्यानाकर्षण भएको र समाधानका लागि पहल गर्ने बताएका हुन् । उनले काठमाडौं फर्किएर सभामुखसहित उच्च तहमा भेटघाट गरी समस्या सम्वोधनका लागि पहल गर्ने बताएका हुन् ।
सरोकारवालाले चिया ऐन निर्माण, विनियोजित बजेट कार्यान्वयनलगायत विषयमा सांसद साँवालाई ध्यानाकर्षण गराएका छन् । चिया ऐन नहुँदा यो क्षेत्रको विकासमा व्यवधान उत्पन्न भएको बताइएको छ । ९८ प्रतिशत चिया हुने कोशीमा चिया क्षेत्रमा काम गर्ने प्रदेश सरकारको संरचना नहुनु, संघीय सरकारको संरचनालाई एमओयू गरेर काममा लगाउन नसक्नु, संघ र प्रदेशमा चिया ऐन नहुनुले चिया किसान, श्रमिक तथा उत्पादकका समस्या समाधान हुन नसकेको त्यस अवसरमा औल्याइयो ।
संघ र प्रदेश सरकारको सहकार्य र समन्वय हुन नसक्दा चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारले चिया क्षेत्रका लागि विनियोजन गरेको २ करोड ६५ लाख रुपैयाँ खर्च गर्न कठिनाई भइरहेको अवगत गराउदै बजेट कार्यान्वयन गर्ने अवस्था सिर्जना गरिदिन ध्यानाकर्षण गराइएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीसहितको टोलीले सांसद साँवासंग छलफल गर्नुका साथै ध्यानाकर्षण पत्र बुझाएका थिए । कोशी प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यान्वयनका लागि संघ र प्रदेश सरकारबीच एमओयू गर्नुपर्ने सुझाइएको छ एमओयूका लागि प्रदेश सरकारको कृषि मन्त्रालय तयार रहेकाले संघीय कृषि मन्त्रालयमा समन्वयको आवश्यकता औल्याइएको छ । कोशीमा चिया ऐन बनाउन मुख्यमन्त्री,मन्त्रीहरु, सांसदहरुले प्रतिवद्धता जनाए पनि काम भने अघि बढ्न सकेको छैन ।