सुरुङ्गा । 

जामुनाबारी सामुदायिक बन उपभोक्ता समुह अन्तरगतको जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रले भारतबाट अवार्ड प्राप्त गरेको छ । झापाको कनकाई–२ र १ मा फैलिएको बन समुहले यसअघि पनि बिभिन्न सम्मान र पुरस्कार प्राप्त गरिसकेको छ । 

समितिले आज (शुक्रवार) सामुदायिक बनको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर भारतको पश्चिम बंगाल सरकार अन्तरगतको हिमालयन हस्पिटालिटी एण्ड टुरिजम डेभलोपमेन्ट नेटवर्कले सर्टिफिकेट एचिभमेन्ट प्रदान गरेको जानकारी दिएको हो । 

jamunkhadi

सस्टिनेबल टुरिजम डेस्टिनेशन अफ द इयर शिर्षकमा अवार्ड हासिल गर्न सफले भएको मितिका अध्यक्ष पर्शुराम गिरीले जानकारी दिए । उक्त अवार्ड प्राप्तसँगै दुवै देशको पर्यटकीय क्षेत्रका लागि थप सहकार्य गर्न सहज हुने विश्वास गरिएको अध्यक्ष गिरीले बताए । 

केही बर्षअघिसम्म उक्त बन समुहको अवस्था राम्रो भएको र अन्यलाई सहयोग गर्न समक्ष भएको बताउँदै अध्यक्ष गिरीले हाल त्यहाँ रहेका बन्यजन्तुको आहारामा समेत समस्या हुने गरेको बताए । ‘अन्य स्थानमा चिडिया घरको लागि स्थानको खोजीभइरहेको छ’ अध्यक्ष गिरीले भने ‘तर, यहाँ करिब तयारी अवस्थामा रहेपनि खोजी गरिएको छैन ।’ बन समुहको अवस्था राम्रो हुँदा सहयोग गर्नेको सुचिमा पहिलो रहेको भएपनि कोभिड महामारीसँगै अवस्था खस्किदै गएको र अहिले कसैले सहयोग नगरेको उनले बताए । 

उक्त पर्यटकीय क्षेत्रमा धसे चितुवा, चितुवा, भालु, अजिङ्गर, मयुर, बदेल, बाँदर, खरायो, ढेडु, बिभिन्न चराचुरुङ्गी रहेको र हाल ती बन्यजन्तुको आहारा धान्न पनि समस्या हुने गरेको उनले बताए । सो क्षेत्रमा ११ बिगाहावढी जमिनमा मृगस्थली रहेको समेत उनले जानकारी दिए । 

समुहको समितिले चरिचरान बन्द, जामुन खाडी सौन्दरिय, चिडियाखानाको पहल, परम्परागत साँस्कृतिक वस्तु संकलन केन्द्र, कोशेली घर सञ्चालन, सिंचाईलाई ब्यवस्थापनलगायतका ९ बुँदे प्रस्तावसमेत अघि सारेको अध्यक्ष गिरीको भनाई छ । अघि सारिएका ९ बुँदे प्रस्ताव लागू गर्नसके सो क्षेत्र करिव करिब पहिलेकै अवस्थामा आउनेसमेत समितिको अपेक्षा रहेको बताइएको छ ।  

विश्व पर्यटन दिवसको अवसर पारेर नेटवर्कले बिभिन्न २४ वटा शिर्षकमा अवार्ड बितरण गरेको मध्ये सस्टिनेबल टुरिजम डेस्टिनेशन अफ द इयर नामक अवार्ड जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रले प्राप्त गर्न सफल भएको समुहका सचिव दीपक ओलीले बताए । 

पत्रकार सम्म्ेलनमा समुहकी उपाध्यक्ष रेनुका खवास, सल्लाहकार अनिरुद्र ओली, बुद्धिमान बोहोरा, कोषाध्यक्ष जीतकुमारी सापकोटा, कार्यसमिति सदस्यलगायतको उपस्थिति रहेको थियो ।