झापा । 

इजरायलका लागि नक्कली कागजात बनाउनेमाथि कारबाहीको तयारी गरिएको छ ।  इजरायलको केयरगिभरका लागि पेस भएकामध्ये ५ प्रतिशत बढी आवेदकले नक्कली कागजात पेस गरेको देखिएकोले कारबाहीके तयारी गरिएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जीटुजी प्रणालीमा कामदार पठाउनुपर्ने र नेपालको विश्वसनीयतामा नै प्रश्न उठेको भन्दै शंकास्पद कागजपत्र बुझाउने आवेदक मात्रै नभइ ती कागजात बनाइदिनेहरूलाई गृह मन्त्रालयसँग समन्वय गरेर कारबाही गर्न विभागलाई निर्देशन दिएको बताइएको छ । 

मन्त्रालयले आवेदकहरूले निवेदनमा पेस गरेका कागजात छानबिन गर्दा कैफियत देखिएपछि केयरगिभर छनोट प्रक्रिया स्थगित गरेको छ ।

आवेदनमा नक्कली प्रमाणपत्र पेस भएको सार्वजनिक भएपछि मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले छानबिन गरेका कूल ३ हजार ४ सय ३१ आवेदनमध्ये हालसम्म १ सय ८४ वटामा कैफियत भेटिएको बताइएको छ ।

इजरायलको रोजगारीका लागि सार्वजनिक सूचनामा सरकारी मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयरगिभरसम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने प्रावधान उल्लेख थियो। नक्कली कागजात बनाउनेमा विभागमा सूचीकरण नभएका संस्था रहेको बताइएको छ । 

इजरायलका दीर्घकालीन स्याहारसुसार केन्द्रका लागि माग भएको २ हजार कामदारका लागि ४ हजार २४ जनाले आवेदन दिएका छन् । त्यसमध्ये ५ सय बढीको आवेदन वैदेशिक रोजगार विभागले प्रारम्भिक चरणमा नै रद्द गरेको थियो । 

यसअघि वैदेशिक रोजगार विभागले ३ हजार ४ सय ६१ जनाको नामावली इजरायल पठाएको थियो । नेपालबाट लैजाने कामदार छनोटमा संलग्न इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले गोलाप्रथामार्फत २ हजार २ सय ४ जना नेपाली कामदार छनोट गरिसकेको छ । त्यसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहेका छन् ।