झापा । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अघोषितरूपमा वैदेशिक रोजगारको काम गर्ने तथा परामर्शका नाममा जथाभाबी शुल्क लिने राजधानीका ३३ कन्सल्ट्यान्सीमा अनुगमन गरेको छ । असार १ गतेदेखि साउन ६ गतेसम्मको अवधिमा विभागले उपभोक्ता ऐनअनुसार ती कन्सल्ट्यान्सीमा अनुगमन गरेको हो ।

विभागले राजधानीमा रहेका एईसी ग्लोबल नेपाल प्रालि, एसएस एजुकेशन सोलुसन सर्भिस प्रालि, प्यासिफिक एजुकेशन कन्सल्ट्यान्सी प्वाइन्ट प्रालि, द नेक्स्ट एजुकेशन कन्सल्ट्यान्सी प्रालि, अक्सब्रिज फाउण्डेशन फर ग्लोबल स्टडिज प्रालि, एसएस एजुकेशन सोलुसन सर्भिस प्रालि, द नेक्स्ट एजुकेशन कन्सल्ट्यान्सी प्रालि, अल्फा बिटा इन्स्टिच्युट प्रालि, आईडीपी एजुकेशन नेपाल प्रालि र थ्रि सिक्स्टी एजुकेशन सोलुसन्स प्रालिमा अनुगमन गरेको छ । 

त्यस्तै आईडीपी एजुकेसन स्टुडेन्ट सर्भिस नेपाल प्रालि, प्याम एजुकेशन प्रालि, अक्सब्रिज फाउण्डेशन फर ग्लोबल स्टडिज प्रालि, ग्लोबल फेमिली एजुकेशन कन्सल्ट्यान्सी प्रालि, ओलिभिया एजुकेशन कन्सल्ट्यान्सी एण्ड ट्रेनिङ सेन्टर प्रालि, ग्लोबल प्लेटफर्म एजुकेशन कन्सल्ट्यान्सी प्रालि, बृहस्पती इन्टरनेशनल एजुकेशन कन्सल्ट्यान्सी, नेटकम्स सर्भिसेस प्रालि, हारुतो ग्लोबल एजुकेशन कन्सल्ट्यान्सी प्रालि र गोरेटो कुमारीपाटी प्रालिमा पनि विभागले अनुगमन गरेको छ । 

अनुगमन गरिएका अन्य कन्सल्ट्यान्सीहरूमा अर्बिट मेडिकल इन्ट्रान्स प्रालि, केआईईसी प्रालि, नेशनल इन्स्टिच्युट अफ म्यानेजमेन्ट एक्सिलेन्स, ए वान एजुकेशन एण्ड कन्सल्ट्यान्सी, मेरिट नेपाल एजुकेशनल सर्भिसेस प्रालि, लनैसिक एजुकेशन प्रालि, अल्फा बिटा इन्स्टिच्युट प्रा।लि।, कोवे इन्टरनेशनल एजुकेशन सेन्टर प्रा।लि।, क्रस ओसियन एजुकेशन कन्सल्ट्यान्सी प्रा।लि।, पाठशाला एजुकेशन नेटवर्क काठमाडौं प्रा।लि।, काष्ठमाण्डप एजुकेशन सर्भिसेस प्रा।लि।, ब्रिस्टा एजुकेशन कन्सल्ट्यान्सी प्रा।लि। र एड्हब युनिभर्सल सर्भिसेस प्रा।लि। रहेका छन् ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अनुगमनका क्रममा कतिपय कन्सल्ट्यान्सी दर्ता नै नभएका र कतिपयले परामर्शका नाममा उपभोक्ताको ढाड सेक्ने गरी जथाभाबी शुल्क असुली गरेको देखिएको बताए ।

वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशकसमेत रहेका दाहालले कतिपयले वैदेशिक रोजगार ऐन २०६४ ले कसुर परिभाषित गरेका काम गरेको देखिए पनि विभागले उपभोक्ता संरक्षण ऐनले दिने अख्तियारीभित्र रहेर अनुगमन गरेको बताए । विभागले एसएस एजुकेसन, ग्लोबल फेमिली, ललितपुर नेटकम, हारुतो ग्लोबल, गोरेटो कुमारीपाटी, नेशनल इन्स्टिच्युट र काष्ठमण्डप एजुकेसनलाई ५१ हजार रुपैयाँका दरले जरिवानासमेत गरेको छ । अन्यलाई विभागमा बोलाएर अनुसन्धान गरिने महानिर्देशक दाहालले बताए ।

शैक्षिक कन्सल्ट्यान्सीहरूले वैदेशिक रोजगार ऐन २०६४ ले कसुर परिभाषित गरेका इजाजत बिना राहदानी लिने र विदेशमा रोजगारीको सुनिश्चितता भन्दै मोटो रकम असुली गर्ने गरेको चर्चा लामो समयदेखि रहेको थियो । केही कन्सल्ट्यान्सीले युरोपेली मुलुकमा वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौं ठगी गर्ने गरेको पनि खुलेको छ । तर अधिकार क्षेत्रको अस्पष्टता  र जनशक्तिको अभाव भन्दै वैदेशिक रोजगार विभागले कन्सल्ट्यान्सीमा अनुगमन वा छापा मार्न नसकिरहेको अवस्थामा वाणिज्य विभागले कन्सल्ट्यान्सीमा अनुगमन गरेको हो ।

महानिर्देशक दाहालले क्यालेन्डर नै बनाएर अनुगमन गरिने मध्यान्ह दैनिकलाई जानकारी दिए । उनले उपत्यका बाहिरका प्रमुख शहरी क्षेत्रमा पनि अनुमति बिना कन्सल्ट्यान्सी खोलेर जथाभाबी रकम असुली गरेको गुनासो आइरहेको पनि बताए ।