बिर्तामोड । 

झापा हल्दीबारी–२ मा ज्यान मार्ने उदेश्यले धारिलो हतियार प्रहार गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हल्दीबारी गाउँपालिका–२ का कांग्रेस सभापति गंगा प्रसाई र उनकी बुहारी ३० बर्षिया रेखा खरेल प्रसाईलाई घरमै गएर ज्यान मार्न खोज्ने बिर्तामोड–९ गरामनीका अन्दाजी ३४ बर्षिय दिपक पौडेल पक्राउ परेका हुन् । 

हत्या गर्ने उदेश्यले बुधवार पौडेल प्रसाई परिवारको घरमा प्र १–०१–०१२ प ५५७३ नम्बरको मोटरसाइकमार्फत धारिलो हतियार सिक्कल प्रहार गर्न खोज्दा स्थानीयले बुधवार साँझ नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । 

केही बर्षदेखि साउदी अरबमा बस्दै आएका पौडेलले गत एक बर्षदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत बुहारी रेखा, ससुरा गंगासहित प्रसाई परिवारका अन्य सदस्यलाई पनि धम्क्याउने तथा गाली गलौज गर्दै आएको बताइएको छ ।  

सामाजिक सञ्जालमार्फत प्रसाई परिवारले चरित्र हत्या गर्ने गरेकोले गत बर्षको चैत्र महिनामा दिपक पौडेलमाथि जिल्ला प्रहरी झापा र काठमाडांैस्थित हनुमान ढोकामा साईबर अपराध सम्बन्धि उजुरीसमेत हालेको थियो । पौडेलले आफुमाथि उजुरी गरेको बिषयलाई लिएर हतियार प्रहार गर्न खोजेको जनाइएको छ । 

पौडेलले ल्याएको धारिलो हतियार सिक्कल र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पौडेलमाथि सामाजिक सञ्जालबाट चरित्र हत्या गर्ने निबेदन परेकाले उनी फरार प्रतिवादी हुन् । उनको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।