झापा । 

 मलेसिया प्रहरीले नेपाली श्रमिकको एटिएम कार्ड कब्जा गरी मिटरब्याजको कारोबार गरेको आरोपमा दुई नेपालीलाई पक्राउ गरेको छ । मलेसियाको सरकारी सञ्चारमाध्यम बर्नामाका अनुसार तेलुक इन्तानमा त्यहाँको प्रहरीले ‘भल्चर कोड’ नामको अपरेसन सञ्चालन गर्दा रकम सापटी दिएर सम्बन्धित श्रमिकको एटिएम कार्ड कब्जा गरेको आरोपमा दुई जना नेपालीलाई पक्राउ गरेको हो ।

हिलिर पेराकका प्रहरी प्रमुख एसिपी चुआ कोक लियानले मे बैंकबाट अरूको एटिएम कार्ड प्रयोग गरी रकम निकाल्दै गरेको अवस्थामा वाणिज्य अपराध अनुसन्धान महाशाखाले उनीहरूलाई पक्राउ गरेको बताए । उनीहरूको साथबाट अन्य व्यक्तिका दुईवटा एटिएम कार्ड र ३ सय रिंगेट बरामद भएको मलेसिया प्रहरीले बताएको छ ।

घटनापछि प्रहरीले पक्राउ परेकाहरूको कारोबारस्थलमा अनुसन्धान गर्दा अन्य तीन एटिएम कार्ड, सुनका गहनाका टुक्रा तथा मुद्दासँग जोडिएको विश्वास गरिएका कागजात फेला पारेको बताएको छ । बरामद सामानको मूल्य २ हजार ५० रिंगेट रहेको प्रहरीको भनाइ छ ।

मलेसियामा दण्ड संहिताको धारा ४२० र ४२४ अनुसार मुद्दाको अनुसन्धान भइरहेको भन्दै प्रहरीले आप्रवासी कामदारसहित सबैलाई आफ्नो एटिएम कार्ड पुरस्कार वा प्रलोभनमा परेर अन्य व्यक्तिलाई नदिन आग्रह गरेको छ । मलेसियाली प्रहरीले यस घटनामा ‘मनी लेन्डर्स एक्ट १९५१’ अन्तर्गत पनि अनुसन्धान अगाडि बढाएको बताएको छ ।