इलाम । 

नेपालको प्रमुख नगदे कृषि बाली अलैंची उत्पादन हुने पूर्वी पहाडी जिल्लामा अलैंची पुनःरोपण अभियान सुरु गरिएको छ । विभिन्न खाले रोग, प्रकोप र वर्षौं पुराना बोट भएका कारण अलैंची खेती मासिँदै जाँदा किसानहरु निराश भइरहेका बेला पूर्वी पहाडी जिल्ला इलामबाट नयाँ प्रविधिमा आधारित अलैंची पुनःरोपण अभियान सुरु गरिएको हो । 


 अलैंची विकास केन्द्र फिक्कलको प्राविधिक सहयोगमा नेपाल अलैंची व्यवसायी महासंघले अभियानको संयोजन गरेको छ । इलामको रोङ गाउँपालिका र देउमाई नगरपालिकामा अलैँची विकास केन्द्रले टिस्यु क्लचर प्रविधिबाट उत्पादन गरेको स्वस्थ नयाँ विरुवा रोपण गरेर अभियान सुरु गरिएको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए ।

  उनले इलाम अलैंचीको उद्गम जिल्ला भएको र विभिन्न रोगका कारण यसै जिल्लाबाट अलैंची मासिन थालेकोले पनि अलैंची पुनःरोपण अभियान यसै जिल्लाबाट सुरु गरिएको उनले बताए ।


कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहाल, रोङ गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया खवास, देउमाई नगरपालिका, वडा नं ६ का वडाध्यक्ष सुरेन वस्नेत, ३ का वडाध्यक्ष पदम कटुवाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दीपक नेपाल, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, वरिष्ठ उपाध्यक्ष इन्द्रचन्द विन्दल, उपाध्यक्षहरु सुवास भट्टराई, मातृका घिमिरे, महासचिव नारायण चिमरिया, महासंघका सल्लाहकार पवन विन्दल, भरत चौधरी, अलैंची विकास केन्द्रका प्रमुख राजन परियारलगायतले संयुक्त रुपमा विरुवा रोपेर अभियानको शुभारम्भ गरेका थिए ।