झापा ।  

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

भाडाको सिटि सफारीमा भारतबाट नेपालतर्फ आउँदै गरेका दमक नगरपालिका वडा नं. ४ का २७ बर्षिय  बिर्जेश सुनुवारलाई शुक्रवार प्रहरीले नियन्त्रणमा लिएको हो । 

लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनुवारमाथि शंका लागेर उनको शरीर तलासी लिदाँ उनले वायाँ खुट्टामा लगाएको जुत्ता भित्र खैरो हेरोइन बरामद भएको थियो ।

उक्त खैरो हिरोइन नाप तौल गर्दा २ ग्राम ४७० मिलिग्राम रहेको र लागु औषधसहित उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।