बिर्तामोड । 

न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीको ऋण लिएर नतिर्नेलाई कारवाही गर्ने बताएका छन् । केही ठूलावडाले आफ्नो स्वार्थ पूरा गर्न ऋण नतिर्न भन्दैमा आफुले लिएको ऋण नतिरे राज्यले कारवाही गर्नसम्म पछि नपर्ने मन्त्री गिरीले चेतावनीसमेत दिएका छन् ।   

झापाको बिर्तामोडमा मंगलबार जिल्ला सहकारी संघले आयोजना गरेको ६७ औं राष्ट्रिय सहकारी दिवसका प्रमुख अतिथिसमेत रहेका मन्त्री गिरीले झापामा सञ्चालित सहकारी संस्थाहरुले सुशासन कायम गरेकाले त्यसको संरक्षण राज्यले गर्नु पर्ने बताएका हुन् ।

 ‘झापाका सहकारीले मूल्य मान्यता र सिद्धान्तबाट नागरिकको हितमा काम गरेका छन्’ मन्त्री गिरीले भने ‘सहकारीले राजनीतिक मात्र नभएर आर्थिक क्रान्तिको समेत नेतृत्व गर्न सफल तथा सक्षम भएका छन् ।’

सहकारीको आन्दोलन कुनै ठूलावडा, शासक र धनिपुँजीपतिले किस्तामा नल्याएको बताउँदै मन्त्री गिरीले  आधारभूत तह, गरिब, बिपन्न, सिमान्तकृत, समानताका हरेक हिसाबले पिछडिएका सारा जनताको भएको बताए । पछिल्लो समय सहकारी आन्दोलनमा  लागेका सहकारी अभियान्ताहरुलाई डरत्रास देखाउने कार्य भइरहेको बताउँदै मन्त्री गिरीले राज्यको मूल्य मान्यता र सिद्धान्तबाट सञ्चालनमा रहेका सहकारीहरुले डराउनु नपर्ने बताए । 

जनताले एक ठाउँमा बसेर आफ्नो उन्नती, प्रगति र समृद्धिका खातिर देशको अर्थतन्त्रमा योदान दिने महान उदेश्य बोकेर संगठित भएर सहकारी अभियान शुरु गरेको मन्त्री गिरीले बताए । ‘सहकारी जन्मदै गर्दा हामीले बुझेका छौं’ मन्त्री गिरीले भने ‘बेला–बेलामा सहकारी आन्दोलनमाथि आक्रमण तथा समस्या आउँछन् ।’ 

समस्या चारैतिरबाट आयो तथा हमला भयो भन्दैमा राज्यको मूल्य मान्यतामा सञ्चालन भएका सहकारीले डराउनु नपर्ने मन्त्री गिरीले बताएका छन् । देशका सवैभन्दा ठूला सहकारी मध्ये पनि तीन वटा झापाकै भएकाले पनि आफुलाई झापाका सहकारीप्रति गौरव महसुस भएको बताएका छन् । उनले सहकारीबाट लिएका ऋण कसैको बहकाउमा लागेर नतिर्नेलाई राज्यले कारवाहीसमेत गर्न सक्ने बताए ।