बिर्तामोड । 

झापाको बह्रदशी गाउँपालिका १ स्थित भागुडुब्बामा  विपन्न समुदायका ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरिएको छ । त्यस्तै उनीहरुलाई मिष्ठान्न भोजन पनि गराएको छ ।  बिर्तामोड ४ को सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मानवीय उद्धार सेवा केन्द्र नेपालको सहकार्यमा एक सय जना बढी ज्येष्ठ नागरिकलाई  ब्लाङ्केट वितरण गरेको हो । 

सिम्रिक साकोसले सामाजिक उत्तरदायित्व अन्तरगत शनिबार बाह्रदशी १ मा रहेको जेष्ठ नागरिक भवनमा आयोजना गरेको कार्यक्रममा  झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङ्देनको  प्रमुख आतिथ्यमा ब्लाङ्केट वितरण गरेको हो ।   

पुस र माघ महिनामा अत्याधिक जाडो हुने र शीत लहर चल्ने भएकाले जाडो छेक्नका लागि विपन्न वर्गका ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरिएको सिम्रिक साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताए ।  संस्थाको कार्यक्षेत्र हल्दीबारी, बाह्रदशी तथा कचनकबलका गरिब तथा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गका जेष्ठ नागरिकलाई लक्षित गरी ब्लाङ्केट वितरण गरिएको कार्यकारी प्रमुख बस्नेतको भनाई छ ।  

हाम्रो सानो सानो सहयोगले न्यानो ब्लाङ्केट नभएर कठ्याङ्ग्रिएर रात काट्न विवश विपन्न परिवारका ज्येष्ठ नागरिकलाई   यो जाडोमा न्यानो हुन्छ भनेर ब्लाङ्केट वितरण गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । अन्य वित्तीय संस्थाभन्दा सिम्रिक सहकारी पृथक भएको बताउँदै संस्थाका अध्यक्ष भट्टराईले सहकारी जन्मेदेखि मृत्युपर्यन्त सदस्यको साथी भएको उल्लेख गरे । 

बाहिर निस्कदा एकसरो न्यानो कपडा भएपनि घरभित्र ओढ्ने र ओछ्याउने नहुँदा जेष्ठ नागरिक कठ्याङ्ग्रिन थालेको र स्वास्थयमा समेत असर पुग्ने अवस्थालाई ध्यानमा दिंदै सिम्रिक साकोसले  सहयोग गरेको भन्दै बिशेष अतिथि प्रदेशसभा सदस्य निमसरी राजवंशीले संस्थाको प्रशंसा गरिन् । 

संस्थाका अध्यक्ष भट्टराईको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागतसहित औचित्माथि प्रकाश कार्यकारी प्रमुख बस्नेतले पारेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका विभागीय विजय वस्नेतले गरेका थिए ।

कार्यक्रममा बाह्रदशी गाउंपालिका ५ का वडाध्यक्ष लोकनाथ संग्रौला, मानवीय उद्धार सेवा केन्द्र नेपालका अध्यक्ष धनबहादुर बुढाथोकी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।