मेचीनगर ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवस शनिबार काँकरभिट्टामा मनाइएको छ । मेचीनगर–६ काँकरभिट्टा स्थित विपी–पुष्पलाल बाटिका तथा सहिद स्मृति प्रतिष्ठानमा नेपाली काँग्रेसका नेता विश्वेश्वरप्रसाद कोइराला(विपी) र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (पुष्पलाल) को शालीकमा माल्यर्पण गरिएको थियो ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापाका सहइञ्चार्ज रविन कोइराला, प्रदेश १ का सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, एमाले मेचीनगर इन्चार्ज देवकुमार राई, एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेती, प्रतिष्ठानका संयोजक रामबहादुर तामाङ, पूर्व मेची बस व्यवसायी संघका अध्यक्ष विष्णु श्रेष्ठ, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, समाजसेवी नरेन्द्र सिटौला लगायतले नेताहरुको शालिकमा माल्यर्पण र खादा पहिर्याएर दुवै नेताप्रति श्रद्घा सुमन अर्पण गरेका थिए ।
कार्यक्रममा झापाका सहइञ्चार्ज कोइरालाले सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको बताए । उनले पुष्पलालले निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी र पुष्पलालको भनाइ अनुसार मोतीदेवीसमेत पाँचजना भएर नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेको स्पष्ट पारे ।
वि.सं. १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्न पुष्पलालले राजनीतिक यात्रा सुरु गरेका थिए ।