बिर्तामोड । 

माक्सवादी ज्ञान केन्द्रको आयोजनामा सात दिने अनलाइन कक्षा सञ्चालन हुने भएको छ । असार १३ गतेदेखि १९ गतेसम्म साँझ ७ः४५ देखि ९ः४५ बजेसम्म १४ औं चरणको कक्षा सञ्चालन हुन लागेको हो । 

सम्पूर्ण कम्युनिष्ट पार्टीका सदस्यहरु उक्र कक्षामा सहभागी हुन सक्ने नेकपा(माओवादी केन्द्र) बिर्तामोड नगर उपाध्यक्ष कमलप्रसाद कडरियाले जानकारी दिएका छन् । कक्षामा विशिष्ट सहजकर्ताको व्यवस्था गरिएको समेत बताइएको छ ।

कक्षामा दर्शनको जीवनमा प्रयोगको सहजीकरण श्याम श्रेष्ठ, शेयर मार्केट र राज्यले लिनुपर्ने नीतिको सहजीकरण दीपक गौतम, आजको विश्व र डिजिटल अर्थतन्त्रको सहजीकरण प्रा.अचलराज पाण्डे,  नेपाली समाजको भौतिकवादी विवेचना सहजीकरण सीताराम तामाङ र  विज्ञानका नयाँ आयामहरूको सहजीकरण डा.शंकर खतिवडाले गर्ने छन् । साथै कक्षामा अन्तरक्रिया समेत हुनेछ । 

कक्षामा सहभागीता जनाउन गुगल फाराम भरेर पठाउनु पर्ने जनाइएको छ । कक्षा असार १३ गते उद्घाटन हुनेछ भने १९ गते सम्पन्न हुनेछ । कक्षा उद्घाटन कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का नेता शक्ति बस्नेत र नेकपा (एकीकृत समाजबादी) का नेता बलराम बाँस्कोटाको समेत सहभागीता रहने जनाइएको छ ।