बिर्तामोड ।
अरुण पूर्वका ९ जिल्लालाई समेटेर लिम्बुवान प्रदेश नामकरण नगरिए सशक्त आन्दोलनमा उत्रने संघीय लिम्बुवान पार्टी नेपाले चेतावनी दिएको छ ।
झापाको बिर्तामोडमा शनिवार(आज) पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय अध्यक्ष सञ्जुहाङ पालुङ्वा र पार्टीका सर्वमान्य नेता बीर नेम्बाङले कानुनी, ऐतिहासिक आधारमा अरुण पुर्वका ९ जिल्लालाई लिम्बुवान वाहेकको जुनसुक्कै नामकरण गरिएमा आन्दोलन थालिने चेतावनी दिएका हुन् ।
पार्टीका अध्यक्ष पालुङ्वाले यसअघि गत २०६४ साल चैत्र ६ गते समेत तत्कालिन सरकारको सात दलसँगको ५ बँुदे सम्झौतामा समेत यस क्षेत्रलाई ऐतिहासिक पृष्ठभुमि र भौगोलिक आधारलाई आधार मानी लिम्बुवान प्रदेश नामकरण गर्ने सम्झौता भएको बताए ।
उनीहरुले पृथ्वीनारायण शाहको पालाका सम्पुर्ण कानुनी र ऐतिहासिक दस्तावेजहरु साथमा रहेको बताएका छन् । संविधान संसोधन गरि नामकरण गरिनु पर्ने पालुङ्गाले बताए । तत्कालिन गोर्खा राज्य र लिम्बुवान बिच वि.स १८३१ साउन २२ गते भएको नुनपानी लालमोहर सन्धि बमोजिम नेपालमा लिम्बुवान सह–राज्यको रुपमा मान्ने भन्ने सम्झौता भएको लिम्बुवानका नेता बीर नेम्बाङले बताएका छन् ।
‘बर्तमान सरकारले प्रदेश नम्बर एक भनी जोर जवरजस्ती रुपमा नामकरण गरिएको हो’ नेता नेम्वाङले भने ‘यसलाई हामी मान्दैनौ ।’ प्रदेश नम्बर १ मा सरकारले अन्य नाम राखि नामकरण गर्न लागिएको जानकारी आएको उनीहरुले बताउँदै त्यस्तो भएमा आन्दोलनको घोषणा गरिने नेताहरुको भनाई थियो ।
संघीय लिम्बुवान पार्टी, नेपालले प्रदेश नम्बर १ को नामाङ्कन गरिएमा ठूूलो बिद्रोह हुने जनाउँदै आएको छ । प्रदेश नं. १ को नामाङ्कन लिम्बुवान आन्दोलनसँग जोडिएकोले नजर अन्दाज नगर्न चेतावनी समेत दिदै आएको छ ।
पत्रकार सम्मेलनमा पाटीका अध्यक्ष पालुङ्वाले लाखौं लिम्बुवानबासी जनताको आन्दोलनप्रतिको आधार, आस्था, समर्पण, सद्भाव तथा ऐकबद्धता रहेको बताउँदै लिम्बुवान स्वायत्त राज्य प्राप्तिको आन्दोलनको भावना विपरित प्रदेश नं. १ को नामाङ्कन नगर्न आग्रह गरेका समेत गरेका छन् । ‘लिम्बुवान राज्य प्राप्ति आन्दोलनमा धेरै रगत बगेको छ’ अध्यक्ष पालुङ्वाले भने ‘ प्रदेशको नामाङ्कन गरिए त्यसको मूल्य निकै मंहगो पर्नेछ ।’ उनले लिम्बुवानको भावना विपरित प्रदेशको नामाङ्कन गरिए ठूलो बिद्रोह, राजनीतिक अस्थिरता र भविश्यमा मंहगो मूल्य चुकाउनु पर्ने चेतावनीसमेत दिएका छन् ।
अध्यक्ष पालुङ्वाले बर्तमान अवस्थामा देशमा वढिरहेको मंहगी, भ्रष्ट्रचार, बलात्कार, बेथिति, कुशासन तथा अमेरिकी परियोजना एमसीसी र एसपीपीको बिषयमा पनि कडा आलोचना गरेका छन् । उनले सरकारले वर्तमान अवस्थामा पेट्रोलियम पदार्थसँगै वढिरहेको मंहगीलाई नियन्त्रण गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा पार्टीका सर्वमान्य नेता नेम्वाङलाई अभिनन्दन समेत गरिएको थियो । बिज्ञप्ती बाचन पार्टीका कोषाध्यक्ष एलबी पालुङ्वाले गरेको कार्यक्रममा उपाध्यक्ष मित्र लिङ्देन, सुवास खापुङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका महासचिव लासिम पालुङ्वाले गरेका थिए ।