झापा ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भद्रपुर नगर कमिटीले निर्वाचनको समयमा असहयोग गर्ने नगरका नेता तथा कार्यकर्तालाई कारवाहीको सिफारिस गरेको छ ।
पार्टीले पाँच जनालाई सदस्यता निलम्बन र १२ जनालाई स्पष्टीकरणलाईका लागि सिफारिस गरेको हो । स्थानीय तहको निर्वाचन २०७९ को भद्रपुर नगरको समिक्षा वैठकले उनीहरुलाई कारवाहीका लागि पार्टीको प्रदेश नं.१ समितिलाई सिफारिस गरेको छ ।
पार्टीको भद्रपुर नगर कमिटीले पार्टीलाई जिवन्तता दिएर हिजो जुन माओवादी पार्टीको रुप थियो सो अनुसार निर्माण गर्नु पर्ने भन्दै उनीहरुलाई कारवाहीको सिफारिस गरेको जनाइएको छ ।
आगामी निर्वाचनमा पार्टीलाई अब्बल बनाउन भद्रपुर नगरले गत असार २ गते बसेको बैठकले वडाबाट आएको रिपोर्ट, निर्वाचनको वेलाको बस्तुगत यथार्थ र बैठकको निर्णयको आधारमा कारवाहीका लागि सिफारिस गरेको निर्वाचन परिचालन समिति भद्रपुरको संयोजक डिल्ली घिमिरे (हिक्मत) द्धारा हस्ताक्षरित सिफारिस पत्रमा उल्लेख छ ।
पार्टीको नगर कमिटीले सदस्यता निलम्बनका लागि सन्तबहादुर लिम्बु (सुजय), नरेश सञ्जेल, लक्ष्मण जमरकट्टेल, चन्द्रबहादुर तामाङ र धिरेन राजवंशीलाई सिफारिस गरेको छ । त्यस्तै स्पष्टीकरणका लागि मिरा अधिकारी, बिष्णुबहादुर राई, रुद्र निरौला, भरतसिंह राजवंशी, अरबिन्द अधिकारी, धनश्याम खनाल, रञ्जित राई, चन्द्र गौतम, योगराज अधिकारी, सन्तोष तामाङ, आशिष खनाल र मोक्ष निरौला रहेका छन् ।